बिर्तामोड/ झापाको हल्दिबारी गाउँपालिकाका एकजना वडाध्यक्षले आफूले एक वर्षमा पारिश्रमिक बापत पाएको सम्पूर्ण सेवा सुविधा वितरण गरेका छन् ।  वडाध्यक्षले आगामी ५ वर्ष पाउने सुविधा पनि स्थानीय सङ्घ–संस्थालाई वितरण गर्ने घोषणा गरेका छन् । हल्दिबारी गाउँपालिका–४ का अध्यक्ष होमप्रसाद चूडालले आफूले पाएको पारिश्रमिक लगायतका सुविधा वितरण गरेका हुन् । उनले जनप्रतिनिधिको हैसियतले आफूले पाएको मोटरसाइकलसमेत गाउँपालिकालाई फिर्ता गरेका छन् ।  ‘चुनावी घोषणा–पत्रमा हामीले पारिश्रमिक लिने भनेका थिएनौं’ अध्यक्ष चूडालले भने, ‘जनतालाई करको बोझ बोकाएर जनप्रतिनिधिले सेवा सुविधा लिनु उचित नलागेर एक वर्षमा लिएको सम्पूर्ण सुविधा वितरण गरेको हुँ ।’ उनले हालसम्म पारिश्रमिक लिएकोप्रति मतदातासामु क्षमायाचनासमेत गरेका छन् ।  पारिश्रमिक तोकेर जनप्रतिनिधिले लोकसेवा पास गरेर जागिर खाएको कर्मचारी जस्तो भएको भनाइ उनको छ । उनले आफूलाई कर्मचारीभन्दा जनप्रतिनिधि भएर काम गर्न उचित लागेको हुनाले सम्पूर्ण सुविधा वितरण गरेको जनाएका छन् । उनले घोषणा–पत्रमा लेखेको कुरालाई हु–बहु कार्यान्वयन गर्ने समेत बताए ।

‘गाउँपालिकाले जनताको ढाड सेक्ने गरी कर लगाएको छ, त्यो करबाट तलब लिएर मोजमस्ती गर्नु नैतिकताले दिएन’ चूडालले भने, ‘पहिले १ सयमा हुने काम अहिले कम्तीमा ५ सय रुपैयाँ पर्छ, यो सहन सकिनँ ।’ उनले आफ्नो वडाका विपन्न समुदाय, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाले वडाबाट कुनै काम गर्नुपरेमा कर तिर्नु नपर्ने व्यवस्था गरेको जानकारी दिए ।  अध्यक्ष चूडाल नेपाली काङ्ग्रेस पार्टीबाट विजयी भएका हुन् । उनले नगरपालिकामा आफू अल्पमतमा परेको हुनाले आफ्नो कुनै कुरा सुनुवाइ नगर्ने गरेको आरोप लगाए । ‘हरेक कुरामा बहुमत र अल्पमत हुँदो रहेछ’ चूडालले भने, ‘म एक्लै भएको हुनाले मेरो कुरा सुनुवाइ हुँदैन ।’ राप्रपाका रविन्द्र लिङ्देनले चुनाव जितेको त्यस गाउँपालिकामा काङ्ग्रेसबाट विजयी हुने चूडाल एक्लो जनप्रतिनिधि हुन् ।  चूडालले आफूले पाएको पारिश्रमिकबाट सोही वडाको दीपेन्द्र प्रावि र महेन्द्र माविका २ सय ७५ जना विपन्न विद्यार्थीलाई ब्याग वितरण गरेका छन् । महेन्द्र माविमा ई–कक्षा शुरुवातका लागि समेत १ लाख २४ हजार ३ सय ७५, पाथीभरा पर्यटकीय क्षेत्रको विकासका लागि १५ हजार र स्थानीय किरातेश्वर गुरुकुललाई ७० हजार उपलब्ध गराएको उनले बताए । चूडालले गत जेठमा गाउँपालिकाबाट पाएको मे. १ ब ५५६ नम्बरको अपाचे मोटरसाइकल समेत फिर्ता गरेका छन् ।

प्रदेश सांसद् ओम सरावगीको उपस्थितिमा वडासचिव विशाल काफ्लेले मोटरसाइकलको साँचो बुझेका थिए ।