यासोक /पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा रहेको स्वास्थ्थ चौकी कार्यालयमा कुपोषणको उपचार प्रभावकारी बन्दै गएको छ । कुपोषणमा परेका बालबालिकाको उपचारका लागि स्थापित केन्द्रमा २० जना बालबालिका हाल उपचाररत छन् । उपचाररत ९ जना बालक र ११ जना बालिकामध्ये १७ जना बालबालिकाको सफल उपचार भएको छ । २ जना कुपोषित बालबालिका उपचारका क्रममा छन् भने एक जनाको मृत्यु भएको छ । उपचाररत बालबालिकाको अवस्था सुधारोन्मुख रहेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०७४/७५ मा मात्रै १७ जना बालबालिका यस केन्द्रमा भर्ना भएका थिए । यस आर्थिक वर्षको शुरुवातमै ३ जना कुपोषित बालबालिका फेला परेका थिए । कुम्मायक गाउँपालिकाको ५ वटै वडाका स्थानीयले सेवा केन्द्रबाट सेवा लिन आउने गरेको कार्यालयका प्रमुख केदार खड्काले बताए । गाउँपालिकाको वडा नं. ३ र ४ रानीगाउँबाट सबैभन्दा बढी ७ जना कुपोषित बालबालिकाले उपचार गराएका छन् । गाउँपालिकामा कुपोषणको उपचारलाई प्रभावकारी बनाउन सबै स्वास्थ्यकर्मीलाई तालिम दिएको कार्यालय प्रमुख खड्का बताउँछन् । गाउँघरमा पोषणयुक्त खानाको अभावमा बालबालिका बढी कुपोषित भएका छन् । खड्काले भने, ‘रोकथाम गर्न प्रत्येक वडाका स्वास्थ्य स्वयम्सेविकालाई पनि तालिम दिएका छौं, यसले धेरै सहयोग मिलेको छ ।’
कुपोषणको उपचार बच्चाको उचाइ, तौल र पाखुराको नापको आधारमा निर्धारण गरिन्छ । यसको उपचारमा मुख्य गरेर आरयूटीएफ नामक पौष्टिक खाद्यपदार्थको प्रयोग गरिन्छ । जुन बच्चाको तौल मापनको आधारमा निर्धारण हुन्छ । यो कम्तीमा ४५ दिन र बढीमा ९० दिन प्रयोग गरिन्छ । यसको प्रयोगपश्चात् बालबालिकाको वृद्धि र विकास चाँडै र उपयुक्त ढङ्गबाट हुने भएकाले यो उपचार केन्द्रप्रति मानिसको विश्वास बढेको कार्यालय प्रमुख खड्का बताउँछन् ।