धरान/ युवा कवि मोतीराम भट्टको १५३ औं जन्मजयन्ती धरानमा भव्यताका साथ मनाइएको छ । मोती संस्मरण समितिले ४३ औं वार्षिकोत्सव गर्दै भट्टलाई सम्झिएको हो । भट्टको योगदानबारे सहभागी अतिथिहरूले चर्चा गरे । भाषाविद् प्रा.डा. टङ्क न्यौपानेले युवा कविको योगदानको चर्चा गरे । प्रा.डा. गोपालप्रसाद भण्डारी र प्रा.डा. भीपप्रसाद खतिवडाले कलिलैमा मृत्युवरण गरे पनि नेपाल साहित्यमा समस्यापूर्तिको कविताको शुरुवात गरेको बताए । आदिकवि भानुभक्त आचार्यलाई चिाउने कामसमेत गरेको बताए । नेपाली कवितामा शृङ्गारिक भाव धारको शूत्रपातसमेत गरेको बताए । समितिका अध्यक्ष गोविन्द तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा डा.महानन्द तिमिल्सिना र साहित्यकार भरतमणि भट्टराई सेर्नालीले समस्यापूर्ति कविता सुनाए । त्यस्तै ग्रीष्म न्यौपाने, इन्दु योञ्जन, गिरिराज आचार्य, लम्जेल सङ्घर्षशील, जनार्दन वस्ती, रामप्रसाद अधिकारी, हिक्मत खड्का, नवराज मैनाली, प्रफुल्ल भण्डारीले पनि कविता तथा गजल वाचन गरेका थिए ।