ताप्लेजुङ/ हिमाली जिल्ला ताप्लेजुङमा नियमित विद्युत् आपूर्ति नहुँदा एक सातायता सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।  विद्युत् आपूर्ति नियमित नहुँदा जिल्लाका उद्योगी, व्यवसायीलगायत स्थानीय सर्वसाधारण साता दिनदेखि समस्यामा परेका छन् । झापाको पाडाजुँगीदेखि १३२/३३ केभिए सव–स्टेशनबाट इलामको तिल्केनी सवस्टेशनसम्म १३२ केभिए ट्रान्सफर्मरबाट विद्युत् प्रसारण भइरहेको छ । सोही प्रसारण लाइन अन्तर्गतको इलाम–तिल्केनी–पाँचथर खण्डमा आएको प्राविधिक गडबडी पत्ता लगाउन नसक्दा विद्युत् आपूर्ति अनियमित भएको हो । विद्युत् लाइन कहाँ फल्ट भएको हो ? भनेर पत्ता लगाउन नसक्दा समस्या भएको विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद साहले बताए ।

फल्ट पत्ता लगाउन निरन्तर प्रयास भए पनि सम्भव नभएको उनको भनाइ छ । ताप्लेजुङसम्म इलामको तिल्केनीबाट १ सय ४५ किलोमिटर दूरी पर्दछ । लामो दूरी भएका कारण पनि छोटो समयको अन्तरालमा नै विद्युत् अवरुद्ध हुने गर्दछ । ताप्लेजुङ यस प्रसारण लाइनको लागि अन्तिम जिल्ला भएकाले पनि समस्या भएको प्रमुख साहको भनाइ छ । अन्तिममा पर्दा इलाम तथा पाँचथरमा विद्युत् अवरुद्ध भए पनि यहाँसम्म असर पर्ने गर्दछ । एक सातासम्मको प्रयासमा पनि फल्ट पत्ता लगाउन नसकेपछि अहिले एकपछि अर्को गर्दै प्रत्येक उपकरणहरूमा विद्युत् फल्ट पत्ता लगाउने काम गरिरहेको प्राधिकरणले जनाएको छ । सीमित कर्मचारी र विद्युत् विस्तार भएको क्षेत्र ठूलो भएकाले थप समस्या भएको प्रमुख साहले बताए । ‘हामी निरन्तर प्रयासमा छौं’ प्रमुख साहले भने, ‘विद्युत् लाइन फल्ट भएको स्थान पत्ता लगाउन नसक्दा समस्या भएको छ ।’ ३३ केभीए क्षमताको केन्द्रीय प्रसारण लाइनको इलाम र पाँचथर खण्डमा समेत विद्युत् फल्ट भएको छ । अहिले इलाम र पाँचथर जिल्लामा पनि विद्युत् नियमित छैन ।

केन्द्रका प्रमुख साहले इलामको तिल्केनीदेखि पाँचथरबीचमा विभिन्न हाइड्रोपावरहरूसँग यो लाइन पनि सिङ्क्रोनाइज गरिएकाले तिनीहरूको कारण पनि समस्या आएको हुनसक्ने भएकाले ती हाइड्रोपावरका उपकरणहरू चेकजाँच थालिएको बताए । एफएम रेडियोको प्रसारण बन्द हुँदा ताप्लेजुङसहित आसपासका बासिन्दा सूचना र मनोरञ्जन पाउनबाट बञ्चित भएको रेडियो तमोरका स्टेशन मेनेजर सजन पौडेलले बताए । विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीय इन्टरनेट सेवा प्रवाहमा समेत समस्या भएको युएफओ केवल नेटवर्किङ एण्ड मार्केटिङका प्रोप्राइटर युगराज गुरुङले बताए ।

विजुली अभावमा रकम भुक्तानी गर्न र पठाउन समस्या भएको वित्तीय संस्थाहरूको भनाइ छ । विद्युत् सेवा अवरुद्ध हुँदा विदेशबाट आफन्तले विभिन्न मनी ट्रान्सफरमार्फत् घरमा पठाएको रकम निकाल्न पाएका छैनन् ।