मधुमल्ला । ग्रामीण क्षेत्रका सडक पूर्वाधारको प्रगति सन्तोषजनक नदेखिएकै बेला मोरड, मिक्लाजुङ गाउँपालिकामा भने कतिपय योजना समयावधि अघि नै सम्पन्न भएका छन् ।

मोरड १ का प्रदेशसभा सदस्य कुशल साम्बा लिम्बुको सांसद विकास कोषबाट विनियोजित रकमले मिक्लाजुङ– ३ र ४ को टाँडीस्थित ग्रामचौक–हेञ्जनचौक सडकखण्डमा ह्युमपाइप बिच्छ्याउने कार्य सम्पन्न भएको छ । सांसद लिम्बूबाट प्रदत २ लाख ५० रुपैयाँ रकमले १७ थान ह्युमपाइप र उपभोक्ता समितिबाट थप एउटा ह्युमपाइप खरिद गरी जालिसमेत लगाएर ग्राभेल सडकको स्तरोन्नति गरिएको उपभोक्ता समिति सदस्य अर्जुनकुमार तामाडले जानकारी दिए । जीर्ण सडकका कारण स्थानीयलाई हिँडडुँलमै सकस थियो, तामाङले भने–‘अब सवारी गुँडाउने गरी बाटो बनेको छ ।’

स्थानीय डम्बरबहादुर धमलाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी सांसदबाट विनियोजित रकम र श्रमदानबाट बाटोको मर्मत सम्भार गरिएको हो । यसअघि सडकको धेरैजसो ठाउँमा ठूला–ठूला खाल्डो भएका कारण बिरामी बोक्ने एम्बुलेन्स छिटो गुडाउन नसक्दा समयमा नै अस्पतालमा पुर्याउन नसकेर बिरामीले थप पीडा ब्यहोर्नु परेको स्थानीयको भनाई छ । खाल्डाखुल्डी पुराईसँगै ह्युमपाइप ब्यबस्थापन गरिएपछि स्थानीय बासिन्दालाई आवतजावतका साथै त्यहाँका कृषि उपज वस्तुहरु बजारमा पुर्याउन सहज भएको उपभोक्ता समितिका सचिव सञ्जयकुमार पापोले बताए ।

सडक सहज भएसँगै टाँडी पश्चिमका दुर्गम गाँउका बासिन्दाहरु लाभान्वित भएका छन् । ‘आएको बजेटअनुसार काम भयो, भएन भनेर नहेर्ने, काम सकिएपछि यो भएन, त्यो भएन भनेर विरोध गर्ने कतिपयको प्रवृत्ति छ’ सचिव पापोले भने–‘त्यसलाई अन्त्य गर्नु जरुरी छ, अब स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकाय सबैले विकासको काममा दत्तचित भएर लागि पर्दा काम राम्रा भयो, समय मै सकियो पनि ।’ केही निहित स्वार्थ भएका ब्यक्तिहरुले अफवाह फैलाएको भन्दै सचिव पापो आपत्ति पनि जनाए ।