बिर्तामोड । बिर्तामोड प्रहरीले ठुलो मात्रामा लागू औषध ब्राउन सुगर सहित कारोबारमा संलग्न चारजनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट १४ ग्राम ब्राउन सुगर, डिजिटल तराजु दुइवटा मोवाइलसमेत बरामद गरेको प्रहरीले जनाएको छ । बिर्तामोड नगरपालिका ४ मा डेरागरी बस्ने उनीहरुले भारतबाट ब्राउन सुगर ल्याएर नेपालमा बिक्रि गर्दै आएको पाइएको बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले बताए । पक्राउ पर्नेहरुमा भारतको पश्चिम बंगालका खगेन भनिने खकेन बर्मन, बिर्तामोड नगरपालिका १० मा घर भइ बिर्तामोड ४ मा डेरा गरेर बस्दै आएका सोमबहादुर राई, अर्जुनधारा नगरपालिका ५ बस्ने बिशाल अधिकारी र भद्रपुर नगरपालिका १३ बस्ने रुपा ताजपुरिया रहेका छन् । प्रहरीले राई, ताजपुरिया र अधिकारीलाई बिर्तामोड ४ मा रहेको राईको डेराबाट पक्राउ गरेको थियो । बिशेष सुचनाका आधारमा प्रहरीले छापा मार्दा पक्राउ परेका अभियुक्तले ब्राउन सुगर तौल गर्दै प्लाष्टिकमा पोको पार्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीको भनाई छ । उनीहरुको बयानका आधारमा भारतबाट लागू औषध नेपाल ल्याएर बिक्रि वितरणमा सक्रिय बर्मनलाई काँकटभिट्टाबाट पक्राउ गरेको जनाएको छ ।