विराटनगर/ १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले जोगवनी रानीदेखि धरानसम्म निर्माण भइरहेको ६ लेन सडक समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार विराटनगरमा आयोजना गरेको सडक सम्बन्धि सरोकारवालाहरुसँगको बैठकमा मुख्यमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् । मुख्यमन्त्री राईले ६ लेन सडकलगायत विराटनगर महानगरपालिका मुख्य तथा भित्री सडक समयमै सम्पन्न गर्न पनि निर्देशन दिए ।
सडक निर्माणमा देखा परेका समस्याको पहिचान र निराकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले बताए ।
प्रदेशको अस्थायी राजधानी रहेको विराटनगरमा स्वदेशी तथा विदेशी पाहुनको आगमन दिनप्रतिदिन बृद्धि हँदै गइरहेकोले सडक निर्माण छिटो सक्नुपर्नेमा मुख्यमन्त्रीको जोड दिए । शहरको सन्दरता कायम राख्न तथा सवारी साधानको चाप कम गर्न भित्री सडकको निर्माणलाई पनि छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने उनको भनाई थियो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी समालेका मुख्यमन्त्री राईले आगामी हप्ता हुने राष्ट्रपतिको विराटनगर भ्रमण, प्रदेश मन्त्रालयको दैनिक कार्यक्रम र फागुन महिनामा हुने साफ महिला फटबलमा पाहुनाहरुको आगामनमा बाधा नहुनेगरी काम गर्नुपर्ने बताए ।
सडक, विद्युत, टेलिकम, खानेपानीलगायतका कार्यालयबीच आवश्यक समन्वय गरी निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउन उनले सम्बन्धित पक्षलाई आग्रह गरे ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, सम्बन्धित कार्यालयका सचिव, विराटनगर, दुहबी र इटहरीका प्रमुखहरु, सडक आयोजनाका प्रमुख तथा सम्बन्धित कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।
फोटो छ ।