बिर्तामोड / झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको बार्षिकोत्सवमा हालसम्मको सबैभन्दा बढी रक्तदान भएको छ ।
संस्थाले बिहिबार बिर्तामोडमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ९६ पिन्ट रगत संकलन भएको छ । जुन संख्या झापा जिल्लाको लागि सबैभन्दा धेरै रक्तदान भएको नयाँ रेकर्ड हो । यसअघि वीरता जेसीसले कार्तिकमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ७९ पिन्ट रगत संकलन भएको थियो ।
छोटो समयमा जिल्लामा लोकप्रिय हुन सफल सहकारी संस्थाले जिल्लाका १४ स्थानमा सेवा केन्द्र सञ्चालनमा ल्याउन सफल भएको छ । संस्थाले आठौ बार्षिकोत्सबसम्म आइपुग्दा ८ करोड रुपैयाँ शेयरपुँजी बनाएको जनाएको छ । संस्थामा झण्डै २० हजार सदस्य पुगेको अध्यक्ष कमलबहादुर बस्नेतले बताए । उनले पुष मसान्तसम्ममा १ करोड ४० लाख रुपैंयाँ नाफा आर्जन गर्न सकिएको जानकारी दिए ।
बार्षिकोत्सबको अवसरमा संस्थाले राष्ट्रिय सहकारी बैकका सञ्चालक सदस्य महेन्द्रकुमार गिरी र लेखा समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीलाई सम्मान गरेको छ ।
संस्थाले पत्रकार तुलसी निरौला, ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई, कर्मचारीहरु यामबहादुर श्रेष्ठ, बिमला न्यौपाने, सुरुङगा सेवाकेन्द्र र लघुवित्त तर्फ धुलावारी केन्द्रलाई पुरस्कार प्रदान गरेको सञ्चालक बिजय बस्नेतले जानकारी दिएका छन् ।