काठमाडौँ/ ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजाे ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
उनका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । पछिल्लो समय परकम्प पातलिँदै गएको छ ।
यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रेक्टरको परकम्प गएको थियो । वि.सं. २०७२ वैशाख १२ को ७.६ रेक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५१० परकम्प गएको केन्द्रले जनाएको छ ।