विराटनगर/ खुल्लारूपमा दुग्धजन्य पदार्थ बिक्रीमा सरकारले रोक लगाउने प्रयास गरेको विरुद्धमा डेरी व्यवसायीहरू आन्दोलित बन्ने सङ्केत देखाएका छन् ।
नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूध र दुग्धजन्य पदार्थको नयाँ निर्देशिका कार्यान्वयन गरेसँगै डेरी व्यवसायीहरू चैत ४ गतेदेखि आन्दोलित बन्ने बताएका छन् ।
सरकारले यस्तो निर्देशिकाका कारण डेरी पसल तथा किसानको दुग्धजन्य सामग्री बिक्रीमा समस्या आउने भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । दुग्धजन्य सामग्री बिक्री गर्ने पसल तथा उपभोक्तासँग समन्वय नगरी ल्याएको निर्देशिकाले रोजीरोटी खोसिने व्यवसायीहरूले गुनासो गरेका छन् । विराटनगरमा मात्रै झण्डै ४० करोडभन्दा बढी डेरी पसलमा लगानी रहेको छ ।
यो निर्देशिका जारी भएसँगै यस्ता व्यवसायीहरू डुब्ने खतरा हुने डेरी व्यवसायी सङ्घ विराटनगरका अध्यक्ष मनोज भुजेलले जानकारी दिए । विराटनगरमा मात्रै दैनिक ८ हजार लिटर दूध बिक्री हुँदै आएको छ ।