धरान/ बाह्र वर्षपछि ताप्लेजुङ जिल्लामै बुधबार राष्ट्रिय क्षति हुने गरी अर्को हेलिकोप्टर दुर्घटना भएको छ । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको निधन भएको छ । 
 
७ असोज, २०६३ सालमा पनि एक मन्त्रीसहित भूगोल तथा योजनाविद् हर्क गुरुङसहित २४ जनाको मृत्यु भएको थियो । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हलचल मच्चाएको थियो । त्यही प्रकृतिको घटना घट्न पुगेको छ । तेह्रथुमको चुहानडाँडास्थित विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली त्यहाँबाट पाथीभरा मन्दिरमा पुगेर फर्किने क्रममा दुर्घटना भएको हो । दुर्घटनाका कारण प्रतिकूल मौसमलाई मानिन्छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित सिस्नेमा दुर्घटना भएको ताप्लेजुङ संवाददाता वसन्त लिम्बूले जानकारी दिए । 
 
एयर डाइनेष्टीको हेलिकप्टरमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ्छिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्रीका अङ्गरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इञ्जिनियर ध्रुवदास भोछिभया र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो । त्यसमध्ये चार जनाको शव सुकेटार विमानस्थल ल्याइएको छ । हिउँ पर्न थालेपछि अन्यको शव ल्याउन कठिनाइ भएको लिम्बूले जानकारी दिए । शवको पहिचान हुन सकेको छैन । 
 
दुर्घटनास्थल ताप्लेजुङको दारेभीरमा हिउँ परेकाले थप शव ल्याउन कठिनाइ भएको लिम्बूले जानकारी दिए । घटनास्थल सदरमुकामबाट झण्डै ३ घण्टाको पैदल दूरीमा रहेको छ । सातै जनाको निधनप्रति नेपाली काङ्ग्रेस, राष्ट्रिय जनमोर्चालगायत राजनीतिक पार्टीहरूले गहिरो शोक व्यक्त गरेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रूपमा शोक वक्तत्व जारी गर्दै पार्टी र देशलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन् । 
 
यस्तो भएको थियो १२ वर्षअघि
७ असोज २०६३ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा हलचल हुने गरी ताप्लेजुङको घुन्सा क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको थियो । जसमा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङसहित २४ जनाको टोलीको निधन भएको थियो । तत्कालीन समयमा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको थियो । १२ वर्षपछि यस्तै प्रकृतिको घटना ताप्लेजुङ क्षेत्रमै भएको छ । जसमा एयर डाइनास्टीको हेलिकोप्टर दुर्घटना भएको छ । जसमा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको निधन भएको छ । 
 
त्यो घटनामा संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेललगायतको निधन भएको थियो । त्यस्तै विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एशिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका सदस्य विजयकुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मीलगायतको निधन भएको थियो । त्यो बेलाको दुर्घटना हुनुको कारण बाक्लो हुस्सुका कारण घुन्साको फलेस्थित धुञ्चे पहाडमा ठोक्किएर दुर्घटना भएको मानिन्छ । 
 
अहिले १२ वर्षपछि भएको दुर्घटनाको प्रारम्भिक अनुमान पनि मौसम खराबीका कारण दुर्घटना भएको मानिएको छ । घुन्सा ताप्लेजुङको सदरमुकामदेखि अढाई दिनको पैदल दूरीमा पथ्र्यो भने यो करिब ३ घण्टाको पैदल दूरीपछि पुग्न सकिन्छ । तत्कालीन समयमा सरकारले पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश जनकेशरीराज पण्डितको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्राकृतिक अवस्थाका कारणले दुर्घटना भएको अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको थियो । अहिलेको घटनामा पनि सरकारले आकस्मिकरूपमा बैठक बोलाएको छ ।
 
छानबिन समिति गठन
 
धरान/सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएलगत्तै छानबिन समिति गठन गरेको छ । 
 
बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चार सदस्यीय छानबिन समिति गठन गरेको हो । बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिको सदस्यहरूमा नेपाली सेनाका सहायक रथी दिपकप्रसाद बास्तोला, नेपाल सेनाका अवकासप्राप्त पाइलट प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । यसक्रममा सरकारले बिहीबार शोक बिदा दिने घोषणा गरेको छ ।