ताप्लेजुङ / ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया टुङ्गिएको छ । जिल्ला कार्यदलको वैठकले ताप्लेजुङका नौ वटै स्थानीय तहको नेतृत्व टुंगो लगाएको हो । सुनसरीको इटहरीमा बसेको नेकपा कार्यदलको बैठकले इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवमा सहमति जुटाएको हो । कार्यदलका एक सदस्यका अनुसार पूर्व एमालेबाट पाँच तहको अध्यक्ष र छ तहको इञ्चार्ज तथा पूर्व माओवादीबाट चार तहको अध्यक्ष र तीन तहमा इञ्चार्ज रहनेछन् ।

स्रोतका अनुसार फुङ्लिङ नगरपालिकाको इञ्चार्जमा पूर्व माओवादीका सागर गौतम, सहइञ्चार्जमा पूर्व एमालेका भरतकुमार गुरुङ, अध्यक्षमा पूर्व एमालेका हेमन्तकुमार उप्रेती र सचिवमा पूर्व माओवादीका सुरेन्द्र पालुङ्वाको नाममा सहमति जुटेको छ ।
यसैगरी मैवाखोला गाउँपालिकाको इञ्चार्जमा पूर्व माओवादीका ध्रुवकुमार वनेम र सहइञ्चार्जमा पूर्व एमालेका खेमबहादुर वनेम, अध्यक्षमा पूर्व एमालेका अनिलदेव लङ्वा र सचिवमा पूर्व माओवादीका आलोक शेर्पा रहेको स्रोतले जनाएको छ । यता आठराई त्रिवेणी गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका कृष्ण सुवेदी तथा सहइञ्चार्जमा पूर्व माओवादी केन्द्रका सूर्य आङ्वुहाङ तथा अध्यक्षमा पूर्व माओवादीका मणि सेम्बु र सचिवमा पूर्व एमालेका दीपेन पोमूको नाम सिफारिस गरिएको छ ।

उता मेरिङ्देन गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका मंगलसिंह केदेम र सह इञ्चार्जमा पूर्व माओवादीका विशाल शेर्पा, अध्यक्षमा पूर्व एमालेका नेत्र नेपाली र सचिवमा पूर्व माओवादी केन्द्रका देउप्रसाद लिम्बूको नाम टुङ्गो लागेको हो । सँगै सिदिङ्वा गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका नन्दलाल गौतम तथा सह इञ्चार्जमा पूर्व माओवादी केन्द्रकी बन्दना कडरिया, अध्यक्षमा पूर्व माओवादी केन्द्रका प्रेम सेलिङ तथा सचिवमा पूर्व एमालेका मानबहादुर राई रहने गरी सहमति जुटेको छ ।

यता मिक्वाखोला गाउँपालिकामा पूर्व माओवादी केन्द्रका चन्द्रकला गुरुङ इञ्चार्ज तथा पूर्व एमालेका ताराहाङ लिम्बूलाई सहइञ्चार्ज, अध्यक्षमा पूर्व एमालेका दिवस लिवाङ र सचिवमा पूर्व माओवादीका खड्ग साँवालाई जिम्मेवारी दिइएको छ ।

सिरीजङ्गा गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका अनन्तबहादुर साँवा तथा सह इञ्चार्जमा पूर्व माओवादी केन्द्रका मदन दाहालको नाम सिफारिस हँुदा अध्यक्षमा पूर्व माओवादी केन्द्रका तेजशमशेर भट्टराई अध्यक्ष तथा पूर्व एमालेका सन्तोष चाम्लिङलाई सचिवको जिम्मेवारी दिने निर्णय गएको छ । यस्तै, पाथीभरा याङ्वरक गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका केशरकुमार मेन्याङ्वो र सहइन्चार्जमा पूर्व माओवादी केन्द्रका ठाकुरसिंह लिम्बू तथा अध्यक्ष पूर्व एमालेका पुण्यप्रसाद खतिवडा र सचिव पूर्वमाओवादी केन्द्रका भीम काङ्वा रहने छन् ।

यसैविच फक्ताङ्लुङ गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका सरोज एभेङ तथा सहइञ्चार्जमा पूर्व माओवादीका मानबहादुर केसी तथा अध्यक्षमा पूर्व माओवादी केन्द्रका दिलकुमार लिम्बू र सचिवमा पूर्व एमालेका मिलन साउदेनको नाम सिफारिस भएको छ । कार्यदलले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन ।