ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्रीमा रोक लगाएको छ ।
मदिरा बिक्री रोक लगाएपछि स्थानीय व्यापारीले मौज्दात रहेको मदिरा थोक बिक्रेतालाई फिर्ता गर्दैछन् । पाथीभरा क्षेत्र पवित्र स्थल रहेकाले पनि त्यसक्षेत्रमा मदिराजन्य वस्तुको बिक्रीमा रोक लगाउने यसअघि निर्णय गरिएको थियो । उक्त निर्णयकै आधारमा खुद्रा व्यवसायीहरूले मौज्दात रहेको मदिराहरू फिर्ता गरिरहेको हो । पाथीभरा क्षेत्रको माथिल्लो फेदी, काफ्लेपाटी र भालुगौंडेका व्यवसायीले जिल्लाका व्यवसायीलाई मदिरा फिर्ता गरेका हुन् ।
विभिन्न कम्पनीका बियर, रोयलटच, रुस्लान, खुकरीरमलगायत नामका मदिरा फिर्ता गरिएको व्यवसायी तथा पाथीभरा क्षेत्र होटल व्यवसायी सङ्घका अध्यक्ष इन्द्रनारायण भट्टराईले जानकारी दिए । पाथीभरा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाउने घोषणालाई यहाँका व्यवसायीले स्वागत गरेको बताए । पाथीभरा क्षेत्रको महŒव र गरिमा बढाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको संयोजनमा बसेको बैठकले पाथीभरा क्षेत्रमा मदिरा निषेधित गर्दै निर्णय गरेको थियो । गत फागुन २६ गते ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको अध्यक्षतामा बसेको बैठकले चैत १ गतेबाट लागू हुनेगरी पाथीभरा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाउने घोषणा गरेको हो ।