धरान  / बाराको फेटा गाउँपालिका– १ को भर्वलिया र वडा नम्बर ६ को पुरैनियामा आँधीबेहरीले सबै भन्दा बढि क्षेती भएको छ । ८० प्रतिशत क्षति पुगेको स्थानीयले बताएका छन् ।
प्रहरीका अनुसार पुरैनियामा ९ जनाको मृत्यु भएको छ । हयाण्ड पम्पसमेत उखेलिएको अवस्था छ ।

जस्ता, फुस र खबटाले छाएका छानाको चिनोवानो छैन् । इँटाको गाह्रो भएका घर पनि भत्किएका छन् ।हिजो साँझदेखि हुण्डरी आएको थियो । पर्सा रबारा क्षेत्रमा आफन्त गुमाएका घर भत्किएकाहरुको रुवाबासी छ । रातभर खुल्ला आकाशमा बसेकाहरु अनिदा छन् । के खाउ र के गरु भएर आतिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिजुलीका पोलहरु ढलेकाले गाउँमा बत्ती छैन । इन्टरनेट पनि छैन । रुखहरु ढलेर कतिपय बाटा बन्द छन् । हालसम्म ३१ जनाको मृत्यु भएको भनिए पनि कतिपय मानिसहरु सम्पर्कमा छैनन् ।

प्रधानमन्त्री घटनास्थलमा
प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाको पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर बारा प्गेका छन् । दुई दिने गृह जिल्ला बसाइका लागि आइतबार दमक आएका प्रधानमन्त्री ओली दोस्रो दिनको कार्यक्रम स्थगन गर्दै हावाहुरी प्रभावित प्रदेश २ को बारा र पर्सामा स्थलगल निरीक्षणका लागि गएका हुन्। प्रधानमन्त्री ओली नेपाली सेनाको स्काइ ट्रकबाट हावाहुरी प्रभावित जिल्ला पुगेका हुन । उनी सोमबार दिउँसो १२ः२० बजे भद्रपुर विमानस्थलबाट उडेका थिए । प्रधानमन्त्री ओलीसँगै उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पनि प्रभावित जिल्लातर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीले रातिनै प्रदेश २ का मुख्यमन्त्री, संघीय सरकारका गृहमन्त्री, सुरक्षा अधिकारीलगायतलाई टेलिफोन मार्फत राहत र उद्धारमा जुट्न निर्देशन दिएका थिए ।
उनले हावाहुरी पीडितको सहयोगमा जुट्न सबैलाई आह्वान समेत गरेका छन् ।

प्रदेश सरकारको आकास्मिक बैठकः मृतक परिवारलाई तीन लाख राहत उपलब्ध गराउने
आइतबार रातिको भीषण हावाहुरीका कारण बारामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत तथा उद्धारमा सहयोग गर्न  सबैलाइ आह्वान गरेको छ।
आज आकस्मिक बसेको बैठकले प्राकृतिक विपदमा परी निधन भएका मृतक परिवारलाई तीन लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो। त्यसैगरी प्रदेश सरकारले घाइतेहरूको सम्पूर्ण उपाचार खर्च प्रदेश सरकारले बेहार्ने र प्रभावित क्षेत्रमा तत्काल खाना र कपडाको व्यवस्था गर्ने निर्णय गरेको छ ।
यसैगरी मन्त्री परिषदको बैठकले घटनाको विस्तृत अध्ययन एवं राहत तथा उद्धारका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय राहत तथा उद्धार समिति समेत गठन गरेको छ। यसैगरी मुख्यमन्त्री राहत कोषमा सहयोग गर्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आवहानसमेत गरेको छ ।