धरान/ एसईई स्टेट वान आइडलको अन्तिम अडिसन राउण्ड शनिबार धरानको फ्रेण्ड्स गार्डेनमा सम्पन्न भएको छ । 
 
फक्ताङ्लुङ अनलाइन टिभीले आयोजना गरेको आइडलको अडिसन वैशाख ७ गतेदेखि शुरु भई पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, झापा र सुनसरीमा भएको थियो । आइडलमा पाँचथरमा १० जनामध्ये ६ जना छनौट भए । त्यसैगरी इलाममा १० जनामध्ये ५ जना, धनकुटाबाट १० जनामध्ये ५ जना, तेह्रथुमबाट ७ जनामा ३ जना, झापाबाट ६ जनामा ३ जना र सुनसरीमा ५२ जनामध्ये ३६ जना गरी जम्मा ५८ जना दोस्रो चरणका लागि छानिएका छन् ।
 
आइडलमा प्रथम हुनेले ५० हजार नगद, एउटा गीत रेकर्ड, एउटा म्युजिक भिडियो र प्लस टु अध्ययनमा पूर्ण छात्रवृत्ति पाउनेछन् । दोस्रो हुनेले ३० हजार नगद, प्लस टु अध्ययनमा ५० प्रतिशत छात्रवृत्ति र अन्य आकर्षक पुरस्कार, तेस्रो हुनेले २० हजार नगद, प्लसटुमा ३० प्रतिशत छात्रवृत्ति र अन्य पुरस्कार पाउने आइडलका इभेन्ट म्यानेजर तीर्थ कार्कीले बताए । 
 
आइडलमा गायिका प्राश्ना शाक्य, सङ्गीत प्रशिक्षक विनायक राई र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्य राम धामी निर्णायकका रूपमा रहेका छन् । आइडलको दोस्रो चरणको छनोट आगामी वैशाख २१ गते फ्रेन्ड्स गार्डेनमा हुने आयोजकले जनाएको छ । आइडलको उत्कृष्ट चारपछि निर्णायकबाट ७५ प्रतिशत र भोटिङबाट २५ प्रतिशत अङ्क प्रदान गरिने म्यानेजर कार्कीले जानकारी दिए ।