एजेन्सी/ बलिउड अभिनेत्री श्रद्धा कपूर कहिले फिल्मका कारण चर्चामा आउँछिन् त कहिले आफ्नै कारण ।
पछिल्लो समय उनी इन्स्टाग्राममा आफ्नो नाम फेरेर चर्चामा छिन् । आफूले अभिनय गरेको चर्चित फिल्म ‘आशिकी २’ रिलिज भएको ६ वर्ष पूरा भएको अवसरमा इन्स्टाग्राममा आफ्नो नाम फेरेर ‘आरोही’ राखिन् । इन्स्टामा आशिकी २ को पात्रको नाम राखेपछि उनका फ्यानहरूबीच उनी पुनः चर्चामा छाइन् ।
योसँगै श्रद्धाका फ्यानले उक्त फिल्म र श्रद्धाको चरित्रलाई पुनः स्मरण गरेका छन् । यो फिल्म श्रद्धाका लागि पनि विशेष फिल्म हो । फिल्ममा उनले आरोहीको भूमिकामा अभिनय गरेकी थिइन् ।
श्रद्धाले मात्र होइन, फ्यानले पनि ट्वीटरमा ‘आशिकी २’ रिलिजको ६ वर्ष पूरा गरेको अवसरमा ‘सिक्स एयर्स अफ आरोही’ ट्रेण्डिङ चलाएका छन् । श्रद्धाले हालै बाहुबलीका अभिनेता प्रभाससँगको फिल्म ‘साहो’ को मुम्बईको सुटिङ सकेकी छिन् । उनी यतिबेला ‘स्ट्रिट डान्सर’ को लण्डनमा छायाङ्कन पूरा गरेर बाँकी छायाङ्कनको पर्खाइमा छिन् ।