धरान । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित एफ.टि.एल.अनलाइन टिभीको आयोजनामा भइरहेको प्रदेशस्तरीय एसईई स्टेट–१ आइडलको दोस्रो चरणको अडिसन शनिबार सम्पन्न भएको छ
एक नम्बर प्रदेशका विभिन्न जिल्लामा भएको अडिसनबाट छानिएका ६३ जना प्रतियोगीहरूले दोस्रो अडिसनमा सहभागिता जनाएका थिए । धरान–९ पुतलीलाइनस्थित फ्रेन्ड्स गार्डेनमा सम्पन्न दोस्रो चरणको अडिसनबाट ३२ जना तेस्रो चरणका लागि छनौटमा परेको इभेन्ट म्यानेजर तीर्थ कार्कीले जानकारी दिए । छनोटमा पर्नेहरूमध्ये सुनसरीबाट ११, पाँचथरबाट ४, इलामबाट ३, झापाबाट ५, धनकुटाबाट ४, तेह्रथुमबाट २ र मोरङबाट ३ जना रहेको कार्कीले जानकारी दिए । तेस्रो अडिसन (गला राउण्ड) आगामी वैशाख २८ गते शनिबार फ्रेन्ड्स गार्डेनमा हुने प्रविधि व्यवस्थापक जगत रानामगरले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, एउटा गीत रेकर्डिङ, एउटा म्युजिक भिडियो र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने प्रा.लि.का अध्यक्ष डम्बरकुमार तुम्बापोले बताए । त्यस्तै दोस्रो हुनेले नगद ३० हजार, विभिन्न आकर्षक पुरस्कार, प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति र तेस्रो हुनेले नगद २० हजार, अन्य आकर्षक पुरस्कार र प्लस टु अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति पाउने अध्यक्ष तुम्बापोले बताए । विजेता, दोस्रो र तेस्रो हुनेका लागि अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले धरानमा नवोदय र युएन कलेज, विराटनगरमा अरनिको कलेज, इटहरीमा नमूना कलेज, बिर्तामोडमा मनकामना कलेज, दमकमा झापा मोडल कलेज, पथरीमा एभरेष्ट कलेज र काठमाडौंमा जेभियर इन्टरनेसनल कलेज रहेको तुम्बापोले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरूमा प्राश्ना शाक्य, राम धामी र विनायक राई रहेका छन् ।