हलिउड फिल्म ‘एभेन्जर्सः एण्ड गेम’ ले दुई अर्ब बीस करोड डलर कमाएको छ । यो फिल्म सबभन्दा छिटो दुई अर्ब डलर कमाउने फिल्मसमेत बनेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै सन् २००९ को फिल्म ‘अवतार’ ले कमाएको छ । अवतारले विश्वव्यापी बजारबाट करिब २ अर्ब ७९ करोड डलर कमाएको थियो भने दोस्रो नम्बरमा ‘टाइटनिक’ फिल्मले २ अर्ब १९ करोड डलर हाराहारी कमाएको थियो । अहिले एभेन्जरले टाइटनिकलाई जितेर दोस्रो धेरै कमाउने फिल्म बनेको छ । अझै यसको व्यापार चलिरहेकाले कतिपय विश्लेषकले अवतारलाई पनि जित्ने अनुमान गरिरहेका छन् ।
‘एभेन्जर्सः एण्ड गेम’ मार्भल कमिक्सको २२ औं शृङ्खला हो । यसमा सबैजसो शृङ्खलाका सुपरहिरोहरू एकैसाथ देखिनेछन् । यो शृङ्खला सन् २००८ मा ‘आइरन म्यान’ बाट शुरू भएको थियो । यो फिल्म हिन्दी, तेलेगु र तामिल भाषामा पनि रिलिज भएको छ । भारतमा पनि यसले सबै बलिउड र तेलेगु र तामिल फिल्मका रेकर्ड तोड्दै सबैभन्दा धेरै कमाउने फिल्म बनिसकेको छ । भारतमा साढे तीनसय करोड भारू कमाउने एभेन्जर्स नै हो । यसले चारसय करोड कमाउने अनुमान छ ।