इटहरी/ उद्योग वाणिज्य सङ्घ इटहरीको आशन्न निर्वाचनले स्थानीय निर्वाचनको झल्को दिएको छ । नयाँ नेतृत्व छनौटको चहलपहल तीव्ररूपमा बढेको छ ।

इटहरीका व्यवसायी र उद्योगीहरू यसबेला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रचार अभियान चैतदेखि नै शुरु गरिएको हो । घरदैलो अभियानसँगै व्यवसायिक छलफल तथा कोठे गोष्ठीहरू दैनिक भइरहेका छन् । यसवर्ष भने उवासङ्घ इटहरीको अधिवेशन र नयाँ नेतृत्व छनौट विशेष महोŒवको रूपमा पनि हेरिएको छ । इटहरीको संरचना तथा कार्यक्षेत्र समेत बृहत् हुँदा पनि इटहरीको चुनावलाई व्यापारीहरूले विशेष रूपमा पनि हेरेका छन् ।

व्यापारीहरूभन्दा पनि पार्टीगत रूपमा निर्वाचन शुरु भएको छ । तीन वर्षे कार्यकालका लागि इटहरीमा नेकपाबाट शैलेष बिष्ट चुनाव लड्दैछन् भने नेपाली काङ्ग्रेस र राप्रपा नेपाल निकटका व्यवसायीहरूको तर्फबाट भीम पौडेललाई अगाडि सारिएको छ । निर्वाचन आउँन एक महिना बाँकी हुँदै बजारमा चुनावी माहोल तातेको छ । स्थानीय तह तथा संसद्को निर्वाचन जस्तै गरी पार्टी विभाजित भएर उम्मेदवारहरू निर्वाचनमा होमिएको व्यवसायीहरू नै बताउँछन् ।

शैलेष बिष्ट नेतृत्वको नेकपा निकट व्यवसायीको प्यानल चुनाव आउनु एक महिनाअघिनै घरदैलो गरि रहेको छ भने भीम पौडेलको नेतृत्वको संयुक्त प्यानल व्यवसायीका समस्या समाधान गर्ने टिम भएको दाबी गर्दै बजारमा प्रवेश गरेको छ । बजारमा उद्योग व्यापार व्यवसाय सञ्चालन गरेर बसेका मतदाता उद्योगी व्यपारीहरूलाई फकाउन व्यापारीभन्दा पनि नेताहरू गाउँ–गाउँ जान थालेका छन् ।

पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष टङ्क दुलाल र केन्द्रीय सदस्य रोहितप्रसाद प्रसाईं भीम पौडेल प्यानललाई जिताउन बजारमा खुलेरै लागिसकेका छन् भने शैलेष बिष्टलाई जिताउन हालका अध्यक्ष तथा प्रदेशसभा संसद् लिलम बस्नेत खुलेर बजारमा लागेका छन् । दुवै उम्मेदवारहरूले मत माग्न जाँदा उद्योगी व्यापारीहरूलाई आ–आफ्ना गुलिया चुनावी एजेण्डाहरू बाँडिरहेका छन् । दुवै जनाले इटहरीमा ठूलो समस्याका रूपमा रहेको घरवहाल वृद्धि र करका विषयको एजेण्डालाई प्रमुख एजेण्डाका रूपमा भीम पौडेल लागेका छन् । पौडेलले निर्वाचन जितेमा इटहरीलाई समृद्ध बनाउन लाग्ने बताए भने बिष्टले पनि आफू निर्वाचनमा जिते इटहरीको व्यापारीको हितमा जुट्ने बताए ।

चुनाव जित्ने आ–आफ्नै दाबी
असार २३ गते बिहीबार हुन गइरहेको उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा आफ्नो प्यानलले नै विजयी हासिल गर्ने शैलेष बिष्ट र भीम पौडेलको दाबी छ । आफू र आफ्नो प्यानलले चुनाव जित्ने थुप्रै आधारहरू रहेको पनि उनीहरूले बताएका छन् । बजारमा चुनाव कस्ले जित्छ भन्ने विषयमा अनेक खाल्का अड्कलबाजीहरू पनि भइरहेका छन् । त्यति मात्र होइन, अध्यक्ष पदका उम्मेदवार दुवैको आलोचना र प्रशंसा पनि उस्तै भइरहेको छ ।

२ हजार मतदाता थपिए
अघिल्लो वर्षको चुनावमा भन्दा यो वर्ष २ हजारभन्दा बढी मतदाता थपिएका छन् । विगतमा ४ हजार १ सय १ जना मतदाता रहेकोमा यो वर्ष बढेर ६ हजार १ सय १ जना मतदाता पुगेको उवासङ्घ इटहरीले जनाएको छ । दर्ता र नवीकरणको काम सकिएर अहिले कम्प्युटर निवेश (इन्ट्री) गराउने काम शुरु भएको उवासङ्घले जनाएको छ ।