इनरुवा/ सुनसरी सदरमुकामस्थित इनरुवा अस्पतालले आफ्नो स्थापनाको ७८ वर्षमा पहिलो पटक शल्यक्रिया सेवाको थालनी गरेको छ ।

झोडा फँडानीपश्चात् वि.सं. १९९८ भदौ २७ गते स्थापना भएको इनरुवा अस्पतालले ७८ वर्षको अन्तरालमा पहिलो पटक गर्भवती महिलाको शल्यक्रिया गरेको हो । सेवा थालनीको क्रममा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साहले गर्भवती महिला इनरुवा–८ की जमिला खातुनको सफल शल्यक्रिया गरेका हुन् ।

खातुन इनरुवा अस्पतालको इतिहासमा शल्यक्रिया गरी सन्तान जन्माउने पहिलो महिला बनेकी छन् । अस्पतालले दिएको जानकारीअनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य छ । डा. साह नेतृत्वमा रहेका जयकिशोर चौधरी, आनन्द मण्डल, प्रवीण तामाङ, निशा मेहता, राधा चौधरी, इन्दिरा गौतम, सुवर्ण श्रेष्ठ, सङ्गिता बजगाई र पुल्कित मरिकको टोलीले पहिलो शल्यक्रिया गरेको हो । पहिलो शल्यक्रियामा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतासहितको उपस्थिति रहेको थियो ।

इनरुवा अस्पतालमा प्रसूतिसम्बन्धी शल्यक्रिया सञ्चालनमा ल्याउन निकै वर्ष पहिलाबाटै पहल भए तापनि सम्भव हुन सकेको थिएन । तत्कालीन जनस्वास्थ्य प्रमुख डिल्लीरमण अधिकारीले सेवा सञ्चालनमा ल्याउन निकै पहल गरे तापनि स्वयम् अस्पतालभित्रको आन्तरिक किचलो, जनशक्ति अभावसहित अन्य प्राविधिक कारणले शल्यक्रियाको प्रक्रिया अघि बढ्न सकेको थिएन ।

पछिल्लो पटक प्रदेश सरकारको निर्णयअनुसार अस्पतालहरूमा सीओसी सेण्टर स्थापना गर्ने उद्देश्य कार्यान्वयनका क्रममा इनरुवा अस्पतालसमेत छनौटमा परेपछि प्रसूतिसम्बन्धी शल्यक्रिया सेवाको थालनी भएको हो । जसका लागि प्रदेश सरकारले डा. साहलाई कन्सल्टेण्टका रूपमा नियुक्त गरी इनरुवा पठाएको हो ।

इनरुवा अस्पतालमा सेवा शुरुवात भए पनि ब्लडबैङ्क भने छैन । जसका लागि पहल गरिने नगरप्रमुख राजन मेहताले बताए । प्रदेश सरकारबाट प्राप्त हुने १ करोड २६ लाखमध्ये ९० लाख पाएको बताउने इनरुवा अस्पतालले तत्काल शल्यक्रियाका लागि १० लाख रकम छुट्याएको सूचना अधिकृत लोकेन्द्र आचार्यले जानकारी दिए ।

अस्पतालले शल्यक्रिया सेवा सञ्चालनमा ल्याउनुलाई स्थानीयले सकारात्मक कदमका रूपमा लिएका छन् । यद्यपि बारम्बार जनशक्ति र आवश्यक स्रोत–साधनको अभाव झेल्दै आएको इनरुवा अस्पतालको हकमा सेवाको निरन्तरताको विषय भने पर्ख र हेरको अवस्थामा रहेको उनीहरू बताउँछन् ।

अस्पताल स्रोतका अनुसार कन्सल्टेण्टका रूपमा नियुक्त गरिएका विशेषज्ञ डा. बालकृष्ण साहको अवधि चालू आ.व.को असार मसान्तसम्म रहेको छ । त्यसपश्चात् शल्यक्रिया सेवाका लागि डा. साहले नै निरन्तरता पाउने हुन् वा हैनन् त्यो भने टुङ्गो छैन । जनशक्तिका लागि सूचना आह्वान गरेको भए पनि हालसम्म कुनै पनि आवेदन नपरेको अस्पताल प्रशासनले जनाएको छ ।