दमक/ झापाको कमल गाउँपालिका–५ लखनपुरमा रङ्गशालाको शिलान्यास गरेको १० वर्ष पुगिसकेको छ । विगत २०६६ मा रक्षामन्त्रीको हैसियतमा रङ्गशालाको शिलान्यास गरेकी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति पदको दोस्रो कार्यकालमा बहाल हँुदा पनि रङ्गशाला निर्माणको काम भने अघि बढेकै छैन ।
रङ्गशालाको नाम राष्ट्रपतिका पति मदन भण्डारीको नाममा राख्ने वा आदिवासी भन्ने विवादले निर्माण अगाडि बढेको छैन । यही बीचमा शनिबार आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानले झापाको दमकमा पत्रकार सम्मेलन गर्र्दै सरकारले आफूहरूलाई पटक–पटक झुक्याएको आरोप लगाएको छ ।
रङ्गशालाको नामका विकल्पका विषयमा छलफल गरेर मार्ग प्रशस्त गर्दा पनि सो रङ्गशाला क्षेत्रभित्रै आदिवासी स्मृति पार्कका लागि १५ बिघा जग्गाको भोगाधिकार, अत्याधुनिक सुविधासम्पन्न सङ्ग्रहालयलगायतका आफ्ना मागहरूलाई सरकारले बेवास्ता गरेको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईको आरोप छ ।
प्रतिष्ठानको शनिबार बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा रङ्गशालाको नामको विकल्पको बहस अन्त्य गर्दै प्रतिष्ठानकै नाममा नै बजेट विनियोजन गरी रोकिएको विकासको काम अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।
छलफल चलाएको नै महिनौं बित्दा पनि कोही गम्भीर नभएको भन्दै प्रतिष्ठानले दुःख व्यक्त गरेको छ । प्रतिष्ठानका अध्यक्ष राईले आफूहरू विकासकै पक्षमा भएकाले नामको विकल्पमा छलफल चलाएर यहाँसम्म आइपुग्दा पनि राज्यपक्षले आफूहरूको न्यूनतम् मागसमेत पूरा गर्न तदारुकता नदेखाएको भन्दै दुःख व्यक्त गरे ।