ताप्लेजुङ । अखिल नेपाल फुटबल सङ्घ एन्फा ताप्लेजुङको आयोजनामा बुधबारदेखि ताप्लेजुङ लिग पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको सङ्घीय सांसद् योगेश भट्टराईले उद्घाटन गरे । प्रतियोगितामा बिसिएस मेमोरियल क्लब सावादिनले वीरेन्द्र युवा परिवारलाई २–० गोल अन्तरले पराजित गर्दै तीन अङ्क जोड्न सफल भएको छ । सावादिनबाट दीपेन लिम्बू र अविशेक लिम्बूले गोल गरे । दोस्रो खेलमा सिसास खोक्लिङ र रामसीता गोम्देन स्मृति कञ्चनजङ्घा फुङ्लिङ क्लबले बराबरी खेलेका छन् ।
दुवै टिमले १–१ गोल गर्दै समान एक–एक अङ्क बाँडेका छन् । कञ्चनजङ्घाका सञ्जय राईले गोल गर्दा खोक्लिङका विकास चौधरीले बराबरी गोल फर्काए । तेस्रो खेलमा कर्णसिंह सोनाम र प्रगतिशील युवा क्लब लिङ्तेपले १–१ गोलको बराबरी खेलेपछि समान १–१ अङ्क जोडेका छन् । कर्णसिंहबाट शक्ति राईले गोल गर्दा लिङ्तेपबाट तपन कार्कीले गोल गरे ।
चौथो खेलमा पाथीभरा युवा क्लब टुक्रे र लालीमा क्लब ढुङ्गेसाँघुबीच सम्पन्न खेलमा पाथीभरा युवा क्लब विजयी बनेको छ । पाथीभराले लालीमा ढुङ्गेसाँघुलाई १–० गोलले पराजित गरेको हो । प्रतियोगितामा ११ वटा क्लबको सहभागिता छ । प्रत्येक समूहका विजेता र समूहमध्येका बेस्ट रनरअप गरी ४ टिम सेमिफाइनलमा प्रवेश गर्ने जिल्ला फुटबल सङ्घका महासचिव विश्वराज नाल्बोले बताए । फाइनल खेल असार १५ गते हुने भएको छ । प्रथमले ५० हजार र दोस्रोले ३० हजार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीसहित उत्कृष्ट गोलकिपर, डिफेण्डर, फरवार्ड र मिडफिल्डरलाई ट्रफी प्रदान गरिनेछ । यसैबीच ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित सङ्घर्ष स्पोर्टिङ क्लब उकालीपानीलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जर्सी हस्तान्तरण गरेको छ ।
क्लबका अध्यक्ष शिवकुमार गुरुङसहित क्लबका पदाधिकारी र खेलाडीमाझ इन्स्योरेन्स प्रमुख हिमाल राईले १४ थान जर्सी हस्तान्तरण गरेको हो । सङ्घर्ष क्लबसँगको सहकार्य आगामी दिनमा बढाउँदै लैजाने राईले बताए । जिल्ला फुटबल सङ्घ अध्यक्ष बालकुमार साँवाले जिल्लाको हकमा सङ्घर्ष क्लब परिचित नाम भएकाले क्लबको उन्नति प्रगतितर्फ लम्किन शुभकामना दिए ।