जिरोपोइन्ट / यही असार १६ गते धरान संगीत प्रतिष्ठानले विश्व संगीत दिवसको अवसरमा बृहत सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
हरेक वर्षको जुन २१ तारिखका दिन विश्व संगीत दिवस मनाउने गरिन्छ । प्रतिष्ठानले हरेक वर्ष उक्त दिन नै सांगीतिक कार्यक्रम गर्दै आएको थियो तर यस वर्ष भने उक्त समयमा प्रतिष्ठानको निर्वाचन परेको कारणले कार्यक्रम पछि सरेको हो । धरानको भानुचोकमा हुने उक्त कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, हार्मोनियम बादक रामचन्द्र बनेपाली, संगीतकार जीवन भट्टराई, भारतीय च्यानल जी टिभीबाट प्रसारित कार्यक्रम सारेगमपा लिटल च्याम्सका सेकण्ड रनर अप इटहरी निवासी प्रितम आचार्यलाई सम्मान गरिने शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
दिउँसो ३ बजेबाट सुरु हुने उक्त कार्यक्रममा धरान संगीत प्रतिष्ठानका कलाकार, वरीष्ठ गायक दीप श्रेष्ठ, गायक शिव लामिछाने, पम्फा चाहार, गंगा बरदानको साथमा धरानको चारवटा व्याण्डको प्रस्तुतिहरु रहने प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठले बताएका छन् । जसमा सास्कृतिक धुन, लोकगीत, देउडा भाका, अंग्रेजी गीत लगायतका संगीतसँग सम्बन्धित सम्पूर्ण बिधाहरुलाई समेटिने बताइएको छ । साथमा कार्यक्रममा विभिन्न नृत्यहरु समेत रहनेछन् ।