ताप्लेजुङ/ अखिल नेपाल फुटबल सङ्घ एन्फा ताप्लेजुङको आयोजनामा बुधबारदेखि जारी ताप्लेजुङ लिग पुरुष फुटबल प्रतियोगिताको उपाधि प्रगतिशील युवा क्लब लिङ्तेपले जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा कर्णसिं सोनाम स्मृति फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रगतिशीलले उपाधि हात पारेको हो । प्रगतिशीलको जितका लागि जर्सी नम्बर २ का किरण हमाल र जर्सी नं. ८ का तपन कार्कीले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।

यता पहिलो हाफमा नै २–० ले पछि परेको कर्णसिं सोनाम स्मृति क्लबले दोस्रो हाफमा निकै दबावका साथ खेलेको थियो । कर्णसिंका लागि जर्सी नम्बर ७ का शक्ति राईले सान्त्वना गोल फर्काएका थिए । विजयी प्रगतिशीलले ५० हजार प्राप्त गरेको छ भने उपविजेता हुने कर्णसिंले नगद ३० हजारमा चित्त बुझाएको छ ।

यता सर्वोत्कृष्ट खेलाडीसहित उत्कृष्ट गोलरक्षक, डिफेण्डर, फरवार्ड र मिडफिल्डरलाई समेत ट्रफीसहित पुरस्कृत गरिएको ताप्लेजुङ जिल्ला फुटबल सङ्घका महासचिव विश्व नाल्बोले जानकारी दिए ।