दमक/ नेपालमा विभिन्न सुन्दर र सुन्दरी खोज्ने प्रतियोगिता भन्दै समय समयमा भव्य कार्यक्रम हुन्छन् ।
कार्यक्रम सञ्चालनको तयारी देख्दा लाग्छ त्यस कार्यक्रमबाट निकै क्षमतावान् मात्र हैन समाजका लागि योगदान पुर्याउन सक्ने नै केही प्रतिभा छनौट हुन्छन् भने जस्तो पनि देखिन्छ । तर बिवडम्बना, पूर्वमा हुने यस प्रकारका कार्यक्रम र प्रतियोगिता आयोजकको खल्ती भर्ने कामबाहेक केही पनि भएको पाइँदैन । कतिपय कार्यक्रम त अन्तिम समयसम्म समेत हुँदैनन् । कार्यक्रम जब अन्तिम चरणमा पुग्दछ तब आयोजकहरू सम्पर्क विहीन हुने घटना पनि कुनै नौलो होइन ।
झापामा पनि एउटा यस्तै प्रतियोगिता भयो । जसमा आयोजकले त खल्ती भरे भरे सहभागी र अभिभावकहरूलाई ऋणको भारी पनि बोकाए । सहभागी र तिनका अभिभावकहरू यतिसम्म लुटिए कि उनीहरूले ऋण नै गरेर छोराछोरीलाई सहभागी गराए । दमक–७ की ज्योति रसाइलीकी छोरी रानी रसाइली स्थानीय हलेसी एकेडेमीमा अध्यनरत छिन् ।
सामान्य पारिवारकी रसाइलीले छोरीका अन्य साथी पनि सहभागी हुने भएपछि बाध्य भएर पनि छोरीलाई प्रिन्स एण्ड प्रिन्सिेस प्रतियोगितामा सहभागी गराइन् । बिर्तामोडको ग्ल्यामर्स नेपालको आयोजना रहेको प्रतियोगीतामा रसाइलीले आफ्नी छोरीलाई सहभागी गराइन् । शुरुमा ३ सय रुपैयाँ प्रवेश शुल्क रहेको र त्यसपछि दोस्रो छनौटमा परेपछि ८ हजार रुपैयाँ तिर्नुपर्यो ।

एक महिनासम्म हिंड्न र आफ्नो परिचय दिनेबारे सिकाउन ८ हजार रुपैयाँ लिएको उनले बताइन् । उनले आफ्नी छोरीका लागि यतिमात्र खर्च गरिनन् यस अवधिमा यही कामका लागि भन्दै कपडा, मेकअप लगायतमा न्यूनतम १० हजार खर्च गरिन् ।
यसरी एक जनालाई प्रिन्स एउण्ड प्रिन्सेस प्रतियोगितामा सहभागी गराएर फाइनल राउण्डसम्म पुर्याउँदा न्यूनतम पनि २० हजार रुपैयाँ खर्च हुने गरेको सहभागीका अभिभावकहरूले बताएका छन् । प्रतियोगिताको अन्तिममा पुगेर बेस्ट इन्टरजेटिक अवार्ड पाएका भवेश कोइरालाका बुबा ज्ञानु कोइराला भन्छन् ‘यस अविधमा कम्तिमा पनि २० देखि २५ हजार रुपैयाँ सकिन्छ ।’ अन्तिममा सबै विजेताले पाउने भनेको एउटा अवार्ड जस्तो, प्रमाणपत्र र खादा ।
यत्तिका रकम खर्च हुँदा कुनै पनि तहको विजेतालाई कुनै रकम पुरस्कार भने थिएन । केवल बजारमा पाइने सामान्य ५÷६ सयको अवार्ड खरिद गरेर दिने गरिएको सहभागीहरूले बताएका छन् । यो प्रतियोगितामा ३ सय ५० जनाले प्रवेश शुल्क तिरेर सहभागी भएका थिए । जसमा प्रवेश शुल्क स्वरूप जनही ३ सय रुपैयाँ रहेको थियो । ३ सय ५० गुणा ३ सय गर्दा १ लाख ५ हजार रुपैयाँ आयोजकले प्रवेश शुल्ककै चरणमा सहभागीबाट कुम्ल्याएको छ ।
त्यसपछि उनीहरूले दोस्रो चरणमा एक महिनाको क्याम्प ट्रेनिङ्ग भन्दै प्रत्येक सहभागीबाट ८ हजारका दरले रकम उठाएका छन् । ग्लामर्स नेपालका प्रबन्ध निर्देशक आशिम ज्वयल श्रेष्ठका अनुसार छनौटमा परेका ६० जनालाई एक महिनाको थप शुल्क स्वरूप ८ हजार रुपैयाँ लिएको बताए । जस मार्फत् ४ लाख ८० हजार रुपैयाँ सङ्कलन भएको थियो ।
यतिमात्र हैन प्रतियोगिताको अन्तिम दिन अर्थात् गत शनिबार दमकस्थित कस्मिक पार्टि प्यालेसमा भएको फाइनलका कार्यक्रममा सहभागीका अभिभावकका साथै अन्य आफन्तलाई प्रवेश शुल्क स्वरूप एक हजारको टिकट समेत राखिएको थियो । आयोजकका अनुसार फाइनल कार्यक्रममा कम्तिामा ३ सय जना सहभागी भएका थिए ।
जसमा न्यूनतम पनि ३ लाख रुपैयाँ प्रवेश शुल्क नै सङ्कलन भयो । यससँगै कार्यक्रममा भागवत वस्त्रालय र श्रेष्ठ एण्ड ब्रदर्शले समेत नगद ५–५ हजारको सहयोग गरेका थिए । यसरी आयोजकले कार्यक्रमको दौरानमा नगदमात्र जम्मा ९ लाख ४५ हजार रुपैयाँ सङ्कलन गरेको छ । यसमा सहभागी भएका मध्ये छात्र र छात्रा गरी फरक फरक विधामा १६ जनालाई अवार्ड र प्रमाण पत्र वितरण गरियो ।