धरान/ मुख्यमन्त्री कप प्रदेश लिगमा सुनसरी र धनकुटाले समान ४–४ अङ्क बटुल्दै शीर्षस्थान कायम गरेका छन् ।
क्षेत्र नम्बर २ अन्तर्गत रहेको सुनसरी र धनकुटा बिहीबारको खेलमा स्पष्ट जित निकाल्दै शीर्ष स्थानमा उक्लिएका हुन् । बिहीबारको पहिलो खेलमा सुनसरीले सङ्खुवासभाको टिमलाई ३–० गोल अन्तरले हराउन सफल भयो ।
यस अघि सुनसरी र तेह्रथुमले बराबरी खेल्दै अङ्क बाँडेका थिए । खेलमा सुनसरीका अविनाश तामाङ, मिलन लिम्बू र उमेश राईले गोल गरे । खेलको म्यान अफ दी म्याच सुनसरीका अविनाश तामाङ घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । तेह्रथुमको भने २ अङ्क छ ।
त्यस्तै दोस्रो खेलमा भोजपुरले लय गुमाउँदा धनकुटाले ४ अङ्क बटुल्दै सुनसरीसँग अङ्कमा बराबरी गरेको छ । भोजपुरका विजय भुजेलले खेलको ८ औं मिनेटमा गोल गर्दै अग्रता कायम गरेका थिए । तर, त्यो लय कायम गर्न नसक्दा धनकुटाका अविनाश राईले दोस्रो हाफको ३१ र ३४ औं मिनेटमा लगातार गोल गरे ।
त्यस्तै ४० औं मिनेटमा सञ्जय रम्तेल र ४२ औं मिनेटमा विशाल लिम्बूले गोल गर्दै जित दिलाए । खेलको म्यान अफ दी म्याच अविनाश राई घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । भोजपुर र सङ्खुवासभा १–१ अङ्कमा सीमित बनेका छन् । शुक्रबार सङ्खुवासभा र तेह्रथुमबीच खेल हुने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
२ नम्बर क्षेत्रमा ५ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन् । क्षेत्र नम्बर १ मा ४ वटा जिल्लाले प्रतिस्पर्धा गरिरहेका छन् भने क्षेत्र नम्बर ३ मा ५ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन् । १ नम्बर क्षेत्रको प्रतियोगिता इलाममा जारी छ भने ३ नम्बर क्षेत्रको प्रतियोगिता उदयपुरमा जारी छ ।