बिर्तामोड । बिर्तामोडमा असारको पहिलो साता काठमाडौँमा सम्पन्न शहीद स्मारक लिग फुटबल छनौट प्रतियोगिताबाट सी डिभिजनमा उक्लिन सफल झापा फुटबल क्लबका खेलाडीलाई शुक्रबार सम्मान तथा पुरस्कृत गरिएको छ ।
झापा फुटबल क्लब प्रदेश नम्बर १ कै एउटामात्र सी डिभिजन क्लब हो । क्लबको सञ्चालक समितिले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा क्लबका तर्फबाट सहभागीलाई प्रमुख अतिथि तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, झापा ११ का अध्यक्ष जलकुमार गुरुङ, क्लबका अध्यक्ष गजेन्द्र पौडेल, बिर्तामोड नगरस्तरीय खेलकुद विकास समितिका अध्यक्ष टीका सङ्ग्रौला, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईलगायतले नगद तथा प्रमाणपत्रले सम्मान गरेका थिए ।
छनौट प्रतियोगितामा खेलाडी र अफिसियल गरी २१ जना सहभागी थिए । उनीहरूलाई जनही ५ हजार नगद प्रदान गरिएको थियो । त्यस्तै, बिर्तामोड गोल्डकपको आयोजक रेड स्टार एफसीका अध्यक्ष राजकुमार विश्वकर्मा र सचिव प्रेमकृष्ण श्रेष्ठ तथा बिर्तामोड भेट्रान्स एफसीका अध्यक्ष किरण थापाले पनि सोही कार्यक्रममा खेलाडी तथा अफिसियललाई खादा ओढाएर सम्मान व्यक्त गरे ।
झापाको क्लबले एन्फाको सी डिभिजनमा स्थान पाउन सफल हुँदा खुसीको क्षण भएको भन्दै अध्यक्ष पौडेलले खेल क्षेत्रमा झापालीको अर्को उपलब्धि भएको उल्लेख गरे । फुटबल खेलमा राजनीतिक गतिविधि भएकोप्रति दुःख व्यक्त गरेका उनले फुटबलको विकासमा लागेको भन्दै नेतृत्वले निषेधको राजनीति गरेकामा घोर भत्र्सनासमेत गरे ।
उनले झापा फुटबल क्लबको अध्यक्ष र झापा गोल्डकपको महासचिवको हैसियतबाटै भत्र्सना गरेको उल्लेख गरे । कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, झापा ११ का अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड नगरका अध्यक्ष टीका सङ्ग्रौलालगायतले आफ्ना धारणा राखेका थिए ।