धरान । मुख्यमन्त्री कप प्रदेश लिग अन्तर्गत धरानमा शुक्रबार सम्पन्न प्रतियोगितामा तेह्रथुम विजयी बन्दै ५ अङ्क जोड्न सफल भएको छ ।
धरानको क्षेत्रीय रङ्गशालामा सम्पन्न खेलमा सङ्खुवासभालाई ३–२ गोल अन्तरले पराजित गर्दै तेह्रथुमले जित निकालेको हो । लिग चरण अन्तर्गत हालसम्म सुनसरी, धनकुटा र तेह्रथुमले अङ्क बनाउन सफल छन् भने भोजपुर र सङ्खुवासभा १–१ अङ्कमा सीमित छन् । सुनसरी र धनकुटाले ४–४ अङ्क बनाएका छन् । क्षेत्र नम्बर २ अन्तर्गतको यो समूहको विजेता र उपविजेता छनौट हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
तेह्रथुमका सन्तोष लिम्बूले खेलका ह्याट्रिक पूरा गरे । खेलको म्यान अफ दी म्याच पनि उनी नै घोषित भए । त्यस्तै सङ्खुवासभाबाट वसन्त ओझा र मन्दीप राईले एक–एक गोल गरे पनि जितका लागि काफी भएन् । यसअघिको भोजपुर र सङ्खुवासभाबीचको खेलमा मात्रै बराबरी गर्दै अङ्क बाँडेका थिए भने त्यसपछिको दुई वटै खेलमा हार बेहोरेको छ ।
शनिबार पहिलखे खेल धनकुटा र सुनसरीबीच हुँदै छ भने दोस्रो खेल तेह्रथुम र भोजपुरबीच हुने आयोजक एन्फाले जनाएको छ । प्रदेश १ सरकारको संयोजनमा प्रतियोगिता भइरहेको छ ।