धरान/ धरानमा जारी मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको फाइनल चरण अन्तर्गत शनिबार भएको खेलमा धनकुटाको बौद्धिक विकास सेवा समाजलाई ६–१ गोलअन्तरले पराजित गर्दै मोरङको बेलबारी फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।

जितसँगै बेलबारीले ३ अङ्क हातपारेको छ । बेलबारीका तर्फबाट खेलको पहिलो मिनेटमा नै किरण लिम्बूले गोल गरेका थिए । पहिलो हाफ १–० ले अघि रहेको बेलबारीले दोस्रो हाफमा थप ५ गोल गरेको थियो । बेलबारीका लागि खेलको ४८ औं मिनेटमा भूषण लिम्बूले गोल गरे भने ६१ औं मिनेटमा वीरेन्द्र लिम्बूले गोल गरे ।

त्यस्तै सुसन लामाले खेलको ६७ औं र ७३ औं मिनेटमा गोल गरेका थिए । खेलको ७७ औं मिनेटमा मोरङका भूषण बस्नेतले गोल गरेका थिए । खेलको थप समयमा धनकुटाका सञ्जय रम्तेलले सान्त्वना गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच बेलबारीका सुसन लामा घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिएको थियो ।

समूह क मा धरान र बेलबारीले समान ३–३ अङ्क जोडेका छन् भने धनकुटा दुवै खेलमा पराजित भई बाहिरिएको छ । आइतबार धरान र बेलबारीबीच हुने खेलले समूह विजेताको टुङ्गो लगाउनेछ भने समूह विजेता टिम फाइनल प्रवेश गर्नेछ ।

इलामद्वारा खोटाङ पराजित
इलामको रेडहर्ष फुटबल क्लबले खोटाङको बाक्सिला फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै ३ अङ्क बटुलेको छ ।

इलामका तर्फबाट खेलको १३ औं मिनेटमा पासाङ शेर्पाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए भने ९१ औं मिनेटमा इलामका विवेक राईले दोस्रो गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अङ्क दिलाएका थिए । खेलको म्यान अफ द म्याच खोटाङका सुदीप केसी घोषित भए । उनलाई नगद ५ हजार र ट्रफी प्रदान गरिएको थियो ।

खोटाङ दुवै खेलमा पराजित हुँदै प्रतिायेगिताबाट बाहिरिएको छ भने समूह ख मा रहेको इलाम र झापाको समान ३–३ अङ्क भएको छ । आइतबार हुने इलाम र झापाको खेलबाट समूह विजेता टुङ्गो लाग्नेछ । समूह विजेताले ३१ गते फाइनल खेल्नेछन् ।

फाइनलको विजेताले ४ केजी चाँदीको रनिङ ट्रफीका साथै ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको विजेताले अन्तरप्रदेश फुटबल प्रतियोगिता खेल्ने र अन्तरप्रदेशको उत्कृष्ट ४ टिमले राष्ट्रिय लिग खेल्ने आयोजकले जनाएको छ ।