विराटनगर/ विराटनगरमा चार महिना अघि सम्पन्न भएको पाँचौँ संस्करणको महिला साफ फुटबलको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई १ नम्बर प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।
विराटनगरमा मङ्गलबार एक कार्यक्रम आयोजना गरेर प्रदेश सरकारले साफ उपविजेता टोलीलाई जनही १÷१ लाख रुपैयाँ नगदले सम्मानित गरेको हो । सम्मानित हुनेमा २० खेलाडी, प्रशिक्षक र अफिसियल रहेका छन् ।
सम्मानित हुने खेलाडीहरूलाई प्रमाणपत्र र नगदसहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई प्रदेशसरकारले उच्च प्राथमिकता राखेर अगाडि बढेको बताए ।
अन्य प्रदेशको तुलनामा प्रदेश १ ले खेलकदु क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिँदै उनले फुटबलको माध्यमबाट खेल क्षेत्रको विकास गरेर अगाडि बढ्ने बताए । ‘प्रदेश सरकारले खेलकुद क्षेत्रलाई छायामा पर्न दिँदैन,’ मुख्यमन्त्री राईले भने, ‘खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार सधैंभरि लागि पर्नेछ ।’
सामाजिक विकास मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा ८ औं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो । प्रदेश सरकारले साफ विजेता भएको खण्डमा महिला टिमका सदस्यलाई जनही २ लाख दिने घोषणा गरेको थियो । तर, उपविजेता बनेपछि प्रदेश सरकारले १/१ लाख दिएको हो ।
यस्तै सोमबार नेपाली टोलीलाई विराटनगर महानगरपालिकाले पनि जनही ५० हजार नगदले सम्मानित गरेको थियो । फागुन २८ देखि चैत ८ सम्म विराटनगरको शहीद मैदानमा भएको पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिम उपविजेता भएको थियो । नेपाली टिम भारतसँग ३–१ गोलले पराजित हुँदा भारत पाँचौंपल्ट च्याम्पियन भएको थियो ।