धरान । देशभर संविधान दिवस दीपावलीका साथ मनाइरहँदा असन्तुष्ट राजनीतिक दलहरूले संशोधनको माग गर्दै विरोध जनाएका छन् ।

२०७२ असोज ३ गते जारी भएको संविधान पाँचौं वर्षमा प्रवेश गरेकोमा दीपावली गरी संविधान दिवस मनाइरहँदा ‘संशोधन’ को माग राख्दै आएका राजनीतिक दलहरू विरोधमा उत्रिएका हुन् । संविधान संशोधन र धारा २७४ खारेजीको मागलाई यथावत् नै राखेका छन् । धरानमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नेतृत्वमा विरोध प्रदर्शन गरेका छन् ।

हात र टाउकोमा कालोपट्टी बाँधेर र्याली आयोजना गरेका थिए । त्यसक्रममा पार्टीका अध्यक्ष कुमार लिङ्देन मिराकले संविधानको विरोधभन्दा पनि संशोधनको पक्षमा आफूहरू उत्रिएको बताए । उनले विभेदकारी धारा २७४ पूर्णरूपमा खारेज गर्नुपर्ने उनले माग गरे ।

कार्यक्रममा जिल्ला अध्यक्ष अमर इजमलगायतका नेताले सम्बोधन गरेका थिए । यस्तै इटहरीमा पनि मङ्गोल नेशनल अर्गनाइजेनले संविधान दिवसको खुलेर विरोध गरे ।

जारी संविधान मूलवासीको पक्षमा नरहेको जिकिर गरेका छन् ।
तर, प्रदेश १ सँगै सबैजसो प्रदेशमा दीपावली गर्दै संविधान दिवस मनाएका छन् । प्रदेश १ ले पनि विराटनगरमा भव्य कार्यक्रम गर्दै संविधान दिवस मनाएको छ ।

चार दिनसम्म संविधान दिवस मनाउने प्रदेश सरकारले सम्बन्धित कार्यालयहरूलाई निर्देशन गरेको थियो । विभिन्न जातजातिका झाँकी तथा कला कौशलयुक्त नेपाली सेनाको प्रस्तुति रहेको थियो । मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त जनताका हक अधिकारलाई व्यवहारमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता र चुनौती रहेको बताए ।

उनले संविधान स्वतः आफै कार्यान्वयन हुने नभई नीति, नियम, कानून, योजना, पद्धति र संस्कारको माध्यमबाट यसको व्यवहारिक कार्यान्वयन हुने बताए ।

उनले स्वच्छ, सुखी र समुन्नत प्रदेशको मूल दृष्टिकोणसहित प्रदेश सरकारले पहिलो आवधिक योजनाको थालनी गरिसकेको बताए । यस्तै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरूको सहमतिमा प्रदेशको नामाङ्कन पनि छिट्टै टुङ्गिने विश्वास व्यक्त गरे ।

उनले नेपालको संविधान, नेपाली जनताले गरेको लामो आन्दोलन, सङ्घर्ष र बलिदानबाट प्राप्त उपलपिब्धहरूसहितको जनभावना र अपेक्षाहरूलाई सम्बोधन गर्ने मूल दस्तावेज भएको दाबी गरे ।

राष्ट्रिय गानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई) २४ पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तीमानी सोलुखुम्बुका कामीरिता शेर्पा र भोजपुरकी अल्ट्रा म्याराथुन धाविका मीरा राईलाई प्रदेशका प्रमुख गोविन्द तुम्बाहाङले पाँच लाख नगदसहित सम्मान गरेका छन् ।

त्यसक्रममा प्रभातफेरीसमेत निकालिएको थियो । मुख्यमन्त्री राईले संविधान दिवसकै अवसरमा विराटनगर विमानस्थल र महेन्द्र चोकमा राष्ट्रिय झण्डोत्तोलन गरेका थिए । यस्तै सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपाल–भारत सीमा जोगवनी नाकामा झण्डोत्तोलन गरेका छन् ।

यस्तै पथरी शनिश्चरे नगरपालिकाले पनि विविध कार्यक्रम गरेर संविधान दिवस मनाएको छ । नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा झण्डोत्तोलन गरिएको थियो । शनिबार पहिलो संविधानसभा सदस्य लालबहादुर सुस्लिङ र दोस्रो संविधानसभा सदस्य चण्डीप्रसाद राईलाई सम्मानित गरिने भएको छ । साँझ नगरपालिका कार्यालयमा दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिने भएको छ ।

धरानमा पनि प्रभातफेरी निकाल्दै संविधान दिवस मनाइएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा भएको प्रभातफेरी कार्यक्रममा सरकारी, गैरसरकारी, सङ्घ–संस्थाका प्रतिनिधिहरू सहभागी रहेका थिए । त्यसक्रममा कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले भानुभक्तको सालिकसँगै राखिएको झण्डाको झण्डोत्तोलन गरेकी थिइन् ।

कानेपोखरी गाउँपालिकाले मार्चपास, वक्तृत्वकला, म्याराथुन, सांस्कृतिक कार्यक्रम गर्र्दै संविधान दिवस मनाएको छ । गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले कार्यालयपरिसरमा झण्डोत्तोलन गरेका छन् । त्यस्तै म्याराथुन, वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको छ ।

५ किलोमिटर दूरीको महिला–पुरुष मिनी म्याराथुनमा पुरुषमा आयम गुरुङ प्रथम, नवीन श्रेष्ठ द्वितीय र राजीव शेर्पा तेस्रो बनेका थिए । त्यस्तै महिलामा सुनिता तामाङ प्रथम र रक्षा धिमाल द्वितीय र विविशा खड्का तृतीय भएकी थिइन् ।

उनीहरूलाई क्रमशः ३, २ र १ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरियो । यसैगरी अन्तरविद्यालय वक्तृत्वकलामा रमाइलो बालजगत्का निकिता उप्रेती प्रथम र सचिन लिम्बू तृतीय भएका छन् । त्यसैगरी आदर्श इङ्लिस स्कुलकी निशा उप्रेती दोस्रो भएकी छन् ।