भद्रपुर । ‘गो ब्याक इण्डिया’ को नारा लगाउँदै झापामा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।
भारतले भर्खरै जारी गरेको देशको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै झापामा नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुले भारतीय विस्तारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
नेविसङ्घ झापा र मेची बहुमुखी क्याम्पस नेविसङ्घ इकाई समिति भद्रपुरले झापाको सदरमुकाम भद्रपुरमा शुक्रबार बिहान विरोध प्रदर्शन गरेका हुन् ।
मेची बहुमुखी क्याम्पसपरिसरबाट निस्किएको विरोध र्याली क्याम्पसमोड, एसपीमोड, ट्रेड युनियन चोक हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि चन्द्रगढी बजारबाट लेखनाथचोक हुँदै टे«ड युनियन चोकमा आएर कोणसभामा परिणत भएको थियो । हाम्रो माटो हाम्रो देश प्राणभन्दा प्यारो छ, भारतीय विस्तारबाद मूर्दाबाट, सरकार किन मौन छ भन्दै र्यालीमा सहभागी विद्यार्थीहरूले नाराबाजीसमेत गरेका थिए ।
यता विरोधसभालाई सम्बोधन गर्दै नेविसङ्घ झापाका सभापति भूवन बुढाथोकीले भारतले पटक–पटक नेपाली भूमि अतिक्रमण गर्दै आइरहेको अवस्थामा पनि सरकार मौन रहेकोमा खेद प्रकट गरे । उनले भारतीय विस्तारवाद विरुद्ध सीमाक्षेत्रमा गएर पनि प्रदर्शन गर्न विद्यार्थीहरू पछि नहट्ने बताए ।
‘भारतको भूमि मिचाहा कर्तुतले नेपालका अरू भूमि पनि आउँदो दिनमा नमिच्ने भन्न सकिँदैन, त्यसैले यसको विरोधसँगै सरकारको गम्भीर ध्यानाकर्षण गराउन विद्यार्थी सडकमा उत्रिएको हो’ –उनले भने ।
उता सत्तारुढ नेकपाका भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिहीबार साँझ ‘गो ब्याक इण्डिया’ को नारा लगाउँदै विरोध प्रदर्शन गरेको अनेरास्ववियुका रोशन लामाले जानकारी दिए ।