ताप्लेजुङ /  लिम्बू समुदायले मनाउने चासोक तङ्नाम पर्वको अवशरमा ताप्लेजुङमा भने सबै जातजातिको सहभागितामा मनाइएको छ । लिम्बू समुदायले नयाँ अन्नबाली प्रकृतिलाई चढाउने पर्वको रुपमा मनाइने चासोक तङ्नामको विषेश कार्यक्रममा ताप्लेजुङमा भने हिन्दु महिलाहरुको संगीनी नाच समेत प्रस्तुत गरिएको हो ।
सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडाको बसपार्कको प्राङ्गणमा भएको कार्यक्रममा लिम्बु सहित ब्राहृमण, क्षेत्री समुदायका स्थानीयको उपस्थिति देखिएको थियो । एक जातिले मनाउने पर्वमा अर्को जातिको पनि उपस्थिति रहे पर्वको महत्व र आकर्षण बढ्ने हुँदा सबैलाई कार्यक्रममा आमन्त्रण गरिएको किराँत याक्थुङ् चुम्लुङ् ताप्लेजुङका अध्यक्ष तथा चासोक तङ्नाम मूल आयोजक समितिका संयोजक प्रेम सेलिङले जानकारी दिए । कार्यक्रममा तोक्मेडाँडा दिदि बहिनी समूहले संगीनी र भजन प्रस्तुत गरेका थिए । संगीनी नाँचका लागि ६० वर्ष उमेर नाँघेका बृद्धा आमाहरुको सहभागिता रहेको थियो । सबै धर्म र जातिले मनाउने चाड पर्वमा सबैको उपस्थिति भए सामाजिक सद्भाव कायम हुने स्थानीय जिवन कालिकोटेले बताए । बुधवारवाट सुरु भएको चासोक तङ्नाम विषेश कार्यक्रममा लिम्बू समुदायको परम्परागत खेल पङ्लुङ सहित यालाङ्, केलाङ्लगायतका प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।