काठमाडाैं  / गायिका आस्था राउत आफै प्रहरीमा पुगेकी छन् । उनी सोमबार बिहान ८ बजे अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकु पुगेर उनले आत्मसमर्पण गरेकी हुन । उनलाई हिरासतमा राख्न प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।

राउतविरुद्ध परेको अभद्र व्यवहारको कसूर सम्बन्धी जाहेरीमाथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले बताए । अभद्र व्यवहार सम्बन्धी कसूर जिल्ला प्रशासन कार्यालयले हेर्ने भएकोले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमै लैजाने तयारी भइरहेको उनल ेबताएका छन् ।

गत माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई जताभावी गालीगजौल गरेकी थिइन । प्रहरी जवान श्रेष्ठले किटानी जोही दिए पछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।