बिर्तामोड / झापाको चारपाने–अर्जुनधारा सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । सडक भत्किन थालेपछि अर्जुनधाराका स्थानीयले बिरोध जनाएका छन् । उनीहरुले मंगलबार सरोकारवालालाई राखेर सोही स्थानमा सार्वजनिक सुनुवाई आयोजना गरेका छन् ।
दातृ संस्था ‘ट्रिपल आर’ को आर्थिक सहयोगमा सो सडक निर्माण हुँदै गरेको हो । शाह इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनले ५ करोड रुपैंयाँको लागतमा कालोपत्रे गर्न ठेक्का लिएको ६ किलोमिटर सडकको लगभग १ सय मिटर बनाउन अझै बाँकी छ । सडकको उतर दिशामा कल्भर्ट निर्माण हुँदै गरेको कारण सडक बनाउन बाँकी रहेको हो । निर्माण कम्पनिले बनाइसकेको मध्ये अर्जुनधारा धामबाट दक्षिणमा ५ सय मिटर सडकको कालोपत्रे भत्किएको छ । एक महिना अघि निर्माण गरिएको सडकको कालोपत्रे भत्किए पछि स्थानीयवासीले त्यसको बिरोध गरेका हुन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले विकास निर्माण गर्ने ठेकेदारको मानसिकता परिवर्तन हुन आवश्यक रहेको बताए । भौतिक पूर्वाधार कार्यालयका प्रमुख धेरै पटक हेरफेर भएका कारण यो सडक निर्माण लम्बिएको र त्यसका कारण समस्या उत्पन्न भएको उनले बताए ।
स्थानीय अमरदिप भेटवालले माटोमा बिटुमिन हालेर कालोपत्रे गर्दै ठेकेदार संस्थाले आँखामा छारो हालेजस्तो गरेको आरोप लगाए । उनले निर्माण सम्पन्न भएको कालोपत्रे सडक फेरी जोतेर नयाँ बनाउनु पर्ने माग पनि राखे । स्थानीय छविलाल शिवाकोटीले निर्माणाधिन अवस्थामा गुणस्तर नभएको भनेर १५ दिन काम अवरुद्ध गरेको बताए । उनले ठेकेदार संस्थाले गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाए पछि काम गर्न दिएको जानकारी दिंदै एक महिना नपुग्दै भत्किनु दुखद भएको बताए ।
निर्माण कम्पनिका इन्जिनियर प्रविण देवले अत्याधिक चिसोको कारण तापक्रम नमिलेको हुनाले सडक भत्किएको बताए । उनले यो बर्षभित्रमा भत्किएको सडकको गुणस्तरीय मर्मत सम्भार गर्ने पनि बताए । ‘असार मसान्तसम्ममा सम्पुर्ण काम सम्पन्न गर्नुपर्ने छ, देवले भने–‘हामी भत्किएको ठाउँमा फिलिङ गरेर प्रि–मिक्स गर्छाैं ।’ उनले अरु ठाउँमा समस्या नआएको पनि बताए ।
पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर किरण बिष्टले ग्रामिण सडकको मापदण्डमा सो सडक डिजाइन गरिएको बताए । उनले सो सडकमा धेरै भन्दा धेरै सवारी साधन सञ्चालन हुने गरेका कारण भत्किन लामो समय नलाग्ने समेत बताए । उनले निर्माण कम्पनिको धरौटी र अन्तिम किस्ता बापतको रकम भुक्तानी नभएका कारण गुणस्तरीय सडक निर्माण नभएसम्म भुक्तानी रोक्ने बताए । ठेकेदार कम्पनिसँग छलफल गरेर गुणस्तरीय सडक बनाउन लगाउने बिष्टले बताए ।

सार्वजनिक सुनुवाईमा मदनकुमार शिवाकोटी, हेमराज खरेल, नारायण पौडेल, पार्वती तामाङ, कौशल भण्डारी लगायतले उपस्थित सरोकारवालासँग गुनासो राखेका थिए ।