देउराली (ब्लाष्ट) सीताराम नाम जप महायज्ञको प्रदेश नम्बर १ का मुख्यमत्री शेरधन राईले उद्घाटन गरेका छन् ।

नेपाली बाबा भनेर चिनिने परम् तपस्वी सन्त आत्मानन्द दास महात्यागी चट्टी बाबाको तŒवधानमा ग्रामथान र बूढीगङ्गा गाउँपालिकाको सिमाना दोहमना घाट त्रिवेणी सङ्गमस्थल गिधनिया हात्तीमुढामा हुन गइरहेको सीताराम नाम जप महायज्ञको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।

श्री हनुमान आराधना मण्डल नेपाल मोरङ र युवा चालिसा केन्द्र समिति, सीताराम नाम जप महायज्ञ समितिको आयोजनामा हुन गइरहेको उक्त महायज्ञको उद्घाटन गर्दै प्रदेश मुख्यमन्त्री राईले विश्व शान्तिका लागि हुनलागेको सीताराम नाम जप महायज्ञलाई पवित्र उद्देश्यका साथ गरिएको बताउँदै सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिएका थिए । राईले यज्ञको सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रदेश सरकारको तर्फबाट ऐक्यबद्धता समेत जनाएका थिए ।

नेपाल सरकारले शुरु गरेको नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै भएको यो महायज्ञले नेपाल सरकारको नेपाल भ्रमण वर्षको महŒवाकांक्षी योजना सफल पार्न सघाउने बताउँदै उनले ग्रामथान र बूढीगङ्गा गाउँपालिकाको सङ्गमस्थलको रूपमा रहेको दोहमना घाट त्रिवेणी घाटको पर्यटकीय सम्भावना अध्ययन गरी धार्मिक पर्यटनको विकास गर्न सघाएको बताए । राईले आगामी दिनमा यस क्षेत्रलाई पर्यटकीयस्थलको रूपमा अघि बढाउन प्रदेश सरकार लागिपर्ने बताए ।

महायज्ञका लागि ११ सय दम्पतीले एकै साथ एक मण्डपमा राम नाम मन्त्रको हवन गर्ने गरी ११ तले मण्डप बनाइएको छ । सय हवन कुण्डहरू निर्माण गरिएका छन् । मण्डपको प्रवेशद्वारमा गणेश र सीता, राम तथा हनुमानका विशाल मूर्ति निर्माण गरिएका छन् । महायज्ञमा १७ हजार पटक नाम जपका लागि मण्डपको दक्षिणी भागमा १ हजार ८ शिवलिङ्गको स्थापना गरिएको छ । जसमा १ हजार ८ भजन मण्डलीहरूले सीताराम नाम जप गर्ने कार्यक्रम रहेको संयोजक दीपेन चौधरीले बताए ।

माघ २६ गतेसम्म चल्ने उक्त महायज्ञको गत सोमबार यज्ञ परिसरबाट इटहरी, झुम्का हुँदै चतराधामसम्मको कलशयात्रा गरेको थियो । मङ्गलबार हवन मण्डपको उद्घाटन गरी बुधबार शिवलिङ्गलाई मण्डप प्रवेश गराएपछि बिहीबारबाट आरती मन्थन, हवन र कीर्तन शुरु हुने संयोजकले जनाए । महायज्ञको २६ गते पूर्णाहुति गरी समापन गरिनेछ ।

mela yagya