लहान/ सिरहाको लहान नगरपालिका–२४ को गोविन्दपुर क्षेत्रमा खानेपानीको सुविधा पु¥याइएको छ ।

नगरको उत्तर पश्चिमवर्ती क्षेत्रमा तेस्रो ठूलो वडा गोविन्दपुर पानी अभावका कारण बस्ती बसाइँ सर्ने अवस्था सिर्जना भएको थियो । बसाइँ नियन्त्रणमा गर्नका लागि गाउँगाउँमा खानेपानीको सुविधा पु¥याइएको वडा कार्यालयले जनाएको छ ।

तीन आर्थिक वर्षमा वडा कार्यालयले गोविन्दपुरका ३४ वटा गाउँमा खानेपानीको सुविधा पु¥याएको वडाध्यक्ष कमलदेव यादवले बताए । आर्थिक वर्ष २०७४/ ०७५ देखि २०७६/ ०७७ सम्म वडा कार्यालय, सङ्घीय र प्रदेश संसदीय विकास कोष, कृषि ज्ञान केन्द्रको बजेटबाट २१ ठाउँमा इनार, पावर ड्रिल र बोरिङ गरी पानी निकालिएको उनले बताए ।

लहान २४ दास टोलका ७० वर्षीय उत्तिमलाल दासले करिब एक घण्टाको दूरीमा रहेको इनारबाट पानी ल्याउन बाध्य आफूहरूले अहिले राहत पाएको बताए । वडाध्यक्ष यादवले खानेपानीसँगै वडा क्षेत्रका ३४ गाउँ बस्तीलाई ग्राभेल सडक सञ्जालले जोड्ने गरी पछिल्लोे दुई आर्थिक वर्षमा करिब साढे १४ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको छ ।

साविक गोविन्दपुर गाविसका सबै वडालाई जोड्ने गरी पर्वतना पोखरीदेखि लेखनाथ मावि, डाँडा टोल, वडा कार्यालयदेखि माणिकदह, झुट्की कृषि सडक, माणिकदहदेखि सर्रे खोलासम्म सडक उकास, हनुमान मन्दिरदेखि लहान १३ को सीमासम्म सडक ग्राभेल गरिएको वडाध्यक्ष यादवले उल्लेख गरे ।

गोविन्दपुर क्षेत्रमा पर्ने महेन्द्र टोल, सरस्वतीलगायत स्थानीय नौ गाउँका विद्यार्थी पढिरहेका लेखनाथ आधारभूत विद्यालयलाई चालु शैक्षिक सत्रदेखि माविमा स्तरोन्नति गरी कक्षा ९ को पढाइ थालिएको छ । करिब सवा पाँच सय विद्यार्थी पढिरहेका उक्त विद्यालयको भवनको माथिल्लो तला थप्न नगरपालिकाबाट १६ लाख रुपैयाँ छुट्याइएको मेयर मुनि साह सुडीले बताए ।