धरान । सहीद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । 

धरान रङ्गशालामा मङ्गलबार सम्पन्न प्रतियोगितामा उसले पाहुना टोली सन् डे एफसी कलकत्तालाई ६–१ को सहज जित निकालेको छ । खेलमा विमल घर्ती मगरले ह्याट्रिक पूरा गरे । उनले खेलको २१, ८० र ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यस्तै विशाल राई बीले २ गोल गर्दा रेजिन सुब्बाले १ गोल गरे । विशालले खेलको २८ र ७४ औं मिनेटमा गोल गरेका थिए । रेजिनले भने ४८ औं मिनेटमा गोल गर्दै फराकिलो गोल अन्तरले हराउन सफल भएको हो । खेलको म्यान अफ दी म्याच ह्याट्रिकर्ता विमल घर्तीमगर नै घोषित हुँदै नगद १५ हजार रुपैयाँ पाए । यो सिजनको 'ए' डिभिजन लिग विजेता मच्छिन्द्रा दुई दिन अघि मात्र झापाको सताक्षीधाम गोल्डकप जितेर धरान आएको हो ।  बुढासुब्बा गोल्ककपमा पहिलाे पटक भाग लिएकाे मच्छिन्द्रालाई यस पटक विजेताको दावेदारको रुपमा लिएको छ ।  

सन् डे एफसीबाट सान्तवना गोल सञ्जीव बउरीले खेलको ८३ औं मिनेटमा गरेका थिए । उनी उत्कृष्ट गोलकर्ता घोषित भए । भोलिको पहिलो सेमीफाइनल खेल पाहुना टोली युकेएफसी भारत र मनाङ मस्याग्दी क्लबबीच खेल हुनेछ ।