धरान/ पहिला कलाकारिताबारे खासै थाहा थिएन । न रुचि, न कुनै आकर्षण । तर अहिले यही क्षेत्रमा जम्दै छिन् धरान–१९ की सङ्गीता लावती ।

सङ्गीता कलाकारिता क्षेत्रमा प्रवेश गरेको करिब २ वर्ष भयो । तर उनले नौ म्युजिक भिडियो र एउटा फिल्ममा अभिनय गरिसकेकी छन् ।

सङ्गीताले हालै अभिनय गरेको फिल्म हो ‘सोल अफ द कमाण्डर’ । एक समयको चर्चित फिल्म ‘द कमाण्डो’ को सिक्वेलका रूपमा निर्माण भएको ‘सोल अफ द कमाण्डर’ का मुख्य कलाकार र निर्माता ‘द कमाण्डो’ कै राजकुमार राई हुन् । फिल्मका निर्देशक वीरबहादुर राई हुन् । यो फिल्ममा सङ्गीताले डिएसपीकी श्रीमतीको भूमिका अभिनय गरेकी छन् ।

लिम्बू भाषा र संस्कृतिमा आधारित भिडियोहरूमा काम गरिरहेकी सङ्गीताले फिल्मी पर्दामा अभिनय गर्दा अलि फरक अनुभव गरिन् । भिडियोमा संवाद बोल्नु नपर्ने, निर्देशकले भनेअनुसार अभिनय गरे पुग्ने तर फिल्ममा त्यतिले मात्र पुग्दैन । सङ्गीताको अनुभव छ, ‘संवादसहित बोल्नुपर्दा रियल गर्दैछु जस्तो फिल हुने रहेछ ।’

सङ्गीताको कलाकारिता यात्रा अलि फरक छ । उनलाई पहिला कलाकारिताबारे खासै थाहा थिएन र मतलव पनि । स्टेज कार्यक्रममा उद्घोषण गर्दै आएकी उनी बरु धर्म, संस्कृतिबारे लेख लेख्न मन पराउँथिन् । फेसबुकमा उनको फोटो हेरेर बेलायत बस्ने उनकै जेठाजु नाता पर्ने गायक आशराज बोखिमले पालामको भिडियोमा अभिनय गर्न आग्रह गरे ।

नसोचेको अभिनयको प्रस्ताव आएपछि सङ्गीता शुरुमा त अलमलमा परिन् । धेरै पटक आग्रह भएपछि उनले नाइँ भन्न सकिनन् । त्यसपछि ‘मिञ्जिफुङ’ अर्थात मायालु फूल बोलको २१ मिनेट लामो पालामको भिडियोमा उनले अभिनय गरिन् । सुवर्ण नेम्वाङको शब्द रचना, यादन शेर्माको सङ्गीत रहेको पालामका निर्माता र गायक आशराज थिए भने गायिका मनु नेम्वाङ ।

त्यसको भिडियोमा मनुता काम्वाङ, सङ्गीता लावती र दीप केरुङले अभिनय गरे । विक्रम वनेमले निर्देशक र देउकृष्ण देवान कार्यकारी निर्देशक रहेको भिडियो दर्शकले मन पराए । अहिलेसम्म यो भिडियो ४ लाख ४७ हजारभन्दा बढीले हेरिसकेका छन् । ‘कुरै करामा पहिलो र अन्तिम सोचेर यो भिडियोमा अभिनय गरेकी थिएँ’ सङ्गीता भन्छिन्, ‘तर, यो भिडियोपछि अभिनय नगरी धरै पाइनँ ।’

सङ्गीताले जनजागरण गीत ‘याक्थुङवा चुम्से’ मा राजु आङ्देम्बेसँग अभिनय गरिन् । यो गीतको शब्द रचना सुवर्ण नेम्वाङ, स्वर यादन शेर्मा र मनु नेम्वाङको थियो । त्यसपछि उनले आशराज बोखिम र गौरी वनेमको स्वर र यादन शेर्माको सङ्गीत रहेको गीत ‘श्रीपङ्गेनु’ मा पनि अभिनय गरिन् । दुवैको निर्देशन विक्रमले गरेका थिए ।

त्यस्तै जनम रोमियो लिम्बूको शब्द, सङ्गीत आङ्खेवाको सङ्गीत अनि गङ्गा फियाक र निसान लिम्बूको स्वर रहेको गीत ‘मिम्मेलुङ्मा’ मा पनि दीप केरुङसँग अभिनय गरिन् । यो भिडियोको निर्देशन रवि शेर्माले गरेका थिए । आशराज र गौरी वनेको ‘पःतथाङ्गिले’ बोलको गीतमा पनि उनले अभिनय गरिन् ।

सङ्गीताले ‘नु मुइङ केसाम’ बोलको ३६ मिनेट लामो मुन्धुमी गीतको भिडियोमा पनि अभिनय गरेकी छन् । यो गीतलाई आशिष दिने गीतका रूपमा पनि चिनिन्छ । शान्ता केरुङको शब्द, निर्माण रहेको मुन्धुमी गीतको भिडियो दिलिप फुरुम्वोको सङ्गीत, स्वर र निर्देशनमा तयार भएको हो । दिलिपकै शब्द, सङ्गीत, स्वर र निर्देशनमा ‘ताम्भुङ्चा’ बोलको गीतमा पनि उनले अभिनय गरिन् ।

अभिनय गरेका नौ भिडियोमध्ये सात सार्वजनिक भइसकेका छन् भने दुईवटा बाँकी छन् । बजारमा आउन बाँकीमा २१ मिनेट लामो पुरानो बिटको पालाम पनि एक हो । यादन शेर्माको शब्द र स्वर, राजु आङ्देम्बेको सङ्गीत रहेको यो पालाममा यादन शेर्मासँगै अभिनय गरेकी छन् उनले । भिडियोको निर्देशक विक्रम वनेम हुन् । त्यस्तै अर्को ‘हाउ तुम्बे सरुम्बे’ बोलको प्रेम गीतमा मधु केरुङसँग अभिनय गरेकी छन् ।

यो गीतको शब्द, स्वर र सङ्गीत यादनकै हो । अभिनय गरेका नौ मध्ये ६ वटामा त दीप केरुङसँगै अभिनय गरेकी छन् । उनी भन्छिन्, ‘पहिलो र अन्तिम भनेर गरेको तर लगातार गरियो । अफर धेरै आए पनि कतिपय गर्न भ्याइनँ ।’