भद्रपुर । यसपालि चैती छठ पर्व झापावासीले घर–घरमै मनाएका छन् ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेसँगै झापाका प्रहरी प्रशासनले लकडाउनमा सार्वजनिक स्थलका नदी तथा खोलामा चैती छठ पर्व मनाउन नपाउने आग्रह गरेपछि व्रतालु परिवारजनले आ–आफ्नो घर तथा आँगनमा खाल्डो खनेर चैती छठ पर्व मनाएका हुन् ।

नदी तथा खोलाको पवित्र जलाशयमा पुगेर अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घय दिने विधि घरघरबाटै पूरा गरेको स्थानीय युवा भिमासिंह राजपुतले जानकारी दिए । अरू बेला व्रतालु परिवार मेची नदी किनारमा नै पुगेर चैती छठ मनाउँदै आइरहेका थिए ।

पर्वको मुख्य दिन निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घय दिने विधि ‘सझुका–अरख’ सम्पन्न गरिएको छ । वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने चैती छठको विधि सप्तमी अर्थात् मङ्गलबार (आज) उदाउँदो सूर्यलाई अर्घय दिएर सम्पन्न गरिएको छ ।