धरान । माध्यामिक शिक्षा परीक्षा (एसईई) जेठको अन्तिम साता गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले बनाएको कार्यदलले सिफारिस गरेको छ ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वमा बनेको कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ । सरकारले वैशाख २५ गते लकडाउनको मोडल परिवर्तन गरेको खण्डमा जेठको अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने गरी प्रतिवेदन बुझाएको हो ।
योसँगै एसईई दिने लाखौं विद्यार्थीमा आशाको सञ्चार भएको छ । लकडाउनको मोडल परिवर्तन भएमा असार १५ गते सक्ने गरी परीक्षा गर्न सकिने बताइएको छ । एसईईसँगै कक्षा १२ को परीक्षा पनि एउटै समयमा दुई सिफ्ट गरेर गर्नका लागि सिफारिस गरिएको छ । यस वर्ष एसईई परीक्षामा कुल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदै छन् । चैत ६ गतेबाट परीक्षा लिने गरी सरकारले तयारी थाले पनि चैत ५ गते साँझ सूचना निकाल्दै एसईई परीक्षा स्थगित गरेको थियो ।
जसले गर्दा एसईई दिने लाखौं विद्यार्थी खिन्न बनेका थिए । सरकारले एसईईका लागि त्यो बेला एक हजार ९५५ वटा परीक्षा केन्द्र तोकेको थियो । पौडेलको नेतृत्वमा बनेको कार्यदलले परीक्षार्थीका लागि अब घरपायक पर्ने स्थानमा परीक्षा दिने व्यवस्था गर्न सिफारिस गरिएको छ । त्यसका लागि उपकेन्द्रहरू थप गर्न सुझाएको छ । परीक्षा सकिएको ४५ दिनभित्र नतिजा प्रकाशन गर्ने तयारी समेत थालिएको छ । यसअघि ६९ दिनमा परीक्षाफल प्रकाशित गर्दै आएको थियो ।
कार्यादलको सुझाव अङ्गिकार गरेमा ४५ दिनभित्र परीक्षाफल प्रकाशित हुने छ । यस्तै कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा पनि वैशाख २५ गतेभित्र प्रकाशित हुने भएको छ ।