पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिकामा भएको नगरस्तरीय महिला फुटबल प्रतियोगिताको हिसाब सोमबार सार्वजनिक भएको छ ।
तत्कालीन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी पथरी बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक भएको हो । फुटबल प्रतियोगिताको खेल संयोजक निता कुलुङ राईले पत्रकार भेटघाटको आयोजना गरी हिसाब सार्वजनिक गरेकी हुन् ।
फुटबल सफलतापूर्ण ढङ्गले भए पनि प्रतियोगिता हुँदाको हिसाब तत्काल नजुटेको, दुई सङ्गठन एकीकरणको चरणमा रहेको हुँदा तत्काल सार्वजनिक हुन नसकेको संयोजक निता राईले बताए । २०७५ पुस १४ देखि १८ सम्म तत्कालीन एमाले र माओवादी पार्टी एकीकरणको चरणमा हुँदा पार्टी सम्बद्ध दुईवटा सङ्गठन मिलेर महिला फुटबल प्रतियोगिता गराएका थिए ।
क्याम्पसको स्ववियु उपसभापति निता राईलाई खेलकुद कार्यक्रमको संयोजक बनाएर प्रतियोगिता भएको थियो । अनेरास्ववियुको इकाई समिति संयोजक जनक पोख्रेल, सचिव मुकेश राई, अखिल क्रान्तिकारीका प्रकाश चौहान, पार्टी सम्बद्ध युवा मनि लिम्बू लगायतको टोलीले नगरस्तरीय महिला फुटबल प्रतियोगिता गराएका थिए ।
प्रतियोगिता हुँदा पथरीशनिश्चरे नगरबाट ८० हजार, राष्ट्रिय खेलकुद परिषद्बाट ७५ हजार, नगरपालिकाका विभिन्न वडाहरूबाट २५ हजार र अन्य सहयोगीहरूबाट ५७ हजार पाँच सय गरेर दुई लाख ३७ हजार पाँच सय सङ्कलन भएको उल्लेख छ ।
खर्चतर्फ नगद र ट्रफी पुरस्कार, टिम फियर, कार्यक्रम सूचना विज्ञापन, इन्धन, छपाइ, टेण्ट, साउण्ड सिस्टम, मैदान व्यवस्थापन, जर्सी, न्यु स्टार क्लब सहयोगलगायतको शीर्षकमा २ लाख ८६ हजार खर्च भएको हिसाब सार्वजनिक गरिएको छ । कार्यक्रममा ४८ हजार ५ सय रुपैयाँ घाटामा भएको विवरण प्रस्तुत गरिएको छ ।