धरान/ जीवनमा एउटा महाकाव्य लेख्ने सपना पालेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको इहलीलाको समाप्तिसँगै महाकाव्य लेख्ने सपना पनि अपूरो बनेको छ । उनले केही समययतादेखि ‘ऋतम्भरा’ महाकाव्य पूरा गर्ने अठोट पालेका थिए ।
तर, मङ्गलबार साँझ एकसय एक वर्षको उमेरमा आफ्नै निवासमा निधन भएपछि महाकाव्य लेख्ने सपना पनि अपूरो बनेको हो । यसलाई साहित्यका स्रष्टाले ‘ऋतम्भरा’ को अवसानको रूपमा चित्रण गरेका छन् । प्रा.डा. टङ्क न्यौपाने भन्छन्, ‘अपूर्णमै छोडेर जानुभयो, ऋतम्भरा अवसान भयो भन्दा हुन्छ, उत्तराधिकारीले पूर्ण गर्ने सम्भावना छैन ।’
डा. न्यौपानेका अनुसार नेपाली काव्य क्षेत्रमा एउटा युगको अन्त्य भएको छ । उनी घिमिरेलाई नेपाली कविताको क्षेत्रमा शिखर पुरुष भन्न रुचाउँछन् । उनी भन्छन्, ‘उनी समन्वयवादी कवि हुन्, भानुभक्त आचार्यको सहजता, लेखनाथको परिष्कार, देवकोटाको स्वच्छन्दतावादलाई एकै ठाउँमा समावेश गर्ने प्रवृत्ति कविहरूमा कमै हुन्छ । उनी त्यसमा पोख्त थिए, उनी नेपाली कविताको शिखर पुरुष हुन् ।’
यता कवि तथा उप–प्राध्यापक दीपक न्यौपानेका अनुसार ऋतम्भरा महाकाव्य पूर्ण भएको अनुमान लगाउँछन् । उनी भन्छन्, ‘लेख्दै गरेको, सकिन लागेको भन्ने कुरा यसअघि नै आइसकेको हो, त्यो काव्य पूर्ण भइसकेको होला, उच्च परिष्कार राख्ने कवि भएकाले परिष्कार गर्दैरहे, मूल खाका चाहिँ सबै पूरा गरिसकेका छन्, नभए पनि काठमाडौंका कविहरूले पूरा गर्छन् होला भन्ने लाग्छ ।’ उनले परिष्कारवादी, स्वच्छन्दतावादी उच्च मानक भएको महाकाव्य टुहुरिएको छैन भन्ने अनुमान लगाए । घिमिरे परिष्कृत सौन्दर्य चेतनाका पुजारीका रूपमा हेको उनी बताउँछन् ।
प्रकृति, देशप्रेम र मानवतामा काव्य लेख्न रुचाउने स्रष्टाको राष्ट्रिय सम्मानका साथ बुधबार काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । घिमिरेको पार्थीव शरीरलाई नेपाली सेनाको २१ जनाको टुकडी एवम् सशस्त्र प्रहरीको पनि २१ जनाको टोलीले अन्तिम सलामी दिएको थियो । बुधबार बिहानै लैनचौरस्थित निवासमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर घिमिरेप्रति सम्मान व्यक्त गरेका थिए ।
२०७४ सालमा नेपाली सेनाको मानार्थ सहायक रथीको उपाधिबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानित गरेकी थिइन् । दुई सातादेखि श्वास–प्रश्वासमा समस्या देखिएपछि गम्भीर बिरामी रहेका थिए । ब्रोङ्काइटिस, रक्तचाप र मधुमेह रोगबाट ग्रसित रहेका उनलाई नियमित जाँच गरिँदै आएको थियो । नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएका राष्ट्रकविका गीत, कविता, खण्डकाव्य, गीतीनाटक, निबन्धलगायतका विधामा कलम चलाएका छन् । विशेषगरी गौरी (शोककाव्य) उनको निकै चर्चित काव्यमा पर्दछ । त्यसो त नवमञ्जरी (कविता सङ्ग्रह) , मालतीमङ्गले (नृत्यनाटिका), ाष्ट्रनिर्माता, राजेश्वरी, पापिनीआमा, धर्तीमाता (खण्डकाव्य), किन्नर–किन्नरी (गीतसङ्ग्रह), आफ्नै बाँसुरी, आफ्नै गीत (निबन्ध सङ्ग्रह) लगायतका कृति छन् ।
१९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेलाई लेखनाथ पौड्याल र लक्ष्मीप्रसाद देवकोटासँगै तुलना गर्ने गरिएको छ । उनले लक्ष्मीप्रसाद देवकोटाले अँगालेको स्वच्छन्दतावादलाई आत्मसात गर्दै परिष्कारपूर्ण ढङ्गले लेखनीलाई अगाडि बढाएका थिए । उनी ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो, यो नेपाली शिर उचाली’ जस्ता कालजयी गीतका स्रष्टा हुन् ।
त्यसो त उनी २०४६ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक वर्ष कुलपतिसमेत भएका थिए । त्यसअघि एक दशकसम्म उपकुलपति भई सेवारत रहेका थिए । घिमिरेले आफ्नो जीवनकालभरि गद्यमा कविता नलेखेको स्मरण गर्छन् । प्रा.डा. न्यौपाने उनी भन्छन्, ‘गद्यमा कविता हुँदैन भन्ने थियो, लयविहीन कविता हुँदैन भन्ने स्पष्ट अडान थियो, उनी बाँसुरी भए के गर्ने, बाँसुरीको धुन भएन भने भन्दै व्यञ्जनात्मक शब्द प्रयोग गर्थे ।’ छोटोमा भरिलो कविता लेख्ने कौशल भएका घिमिरेलाई ज्यूँदो हुँदा र मर्दा पनि ाष्ट्रिय सम्मान पाउने पहिलो कवि भएको उनले संज्ञा दिए ।