विजयपुर । नेपाल सरकारले निर्धारण गरेका १०० पर्यटकीय गन्तव्यभित्र पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग यतिबेला थरीथरीका गुराँसले ढकमक्क ढाकिएको छ ।
मुन्दुम ट्रेल आसपासका वन तथा पाखामा रातो, सेतो र गुलाबी रंगका विभिन्न प्रजातिका गुराँस फुलेसँगै क्षेत्रको प्राकृतिक सौन्दर्य थप मनमोहक बनेको छ । एउटै वन तथा घाँसेमैदानमा फरक–फरक रंगका गुराँस फुलेको दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको छ ।
खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट सुरु हुने मुन्दुम ट्रेल आसपासका वनमा फुलेका लालीगुराँस, चिमाल तथा चाँप अवलोकन गर्न यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको स्थानीयले बताएका छन् ।
हालै ‘हिँड्ने मान्छे’ उपनामले चिनिने ओजनबाबु आचार्य नेतृत्वको टोलीले मुन्दुम ट्रेलको पदयात्रा पूरा गरेको छ । टोलीमा लालबहादुर मगर ‘एलबी’, सञ्जिव राई र सन्जित राई सहभागी थिए । चारदिने यात्रा पूरा गरी फर्किएको टोलीले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा सार्वजनिक गरेका विभिन्न रंग र प्रजातिका गुराँसका तस्वीर अहिले धेरैको रोजाइमा परेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक तस्वीरकै प्रभावले गुराँस अवलोकनका लागि मुन्दुम ट्रेल जाने आन्तरिक पर्यटकको संख्या झन् बढ्दै गएको स्थानीय बताउँछन् । ‘हिँड्ने मान्छे’का अनुसार मुन्दुम ट्रेल प्रकृतिको अनुपम उपहार भएकाले हरेक वर्ष कम्तीमा दुई पटक—वसन्त र शरद ऋतुमा—यहाँ यात्रा गर्नुपर्ने गन्तव्य हो ।
“मुन्दुम ट्रेलमा यतिबेला विभिन्न रंग र प्रजातिका गुराँस ढकमक्क फुलेका हुन्छन् । अन्य ठाउँमा पाखामा गुराँस फुलेको पाइन्छ, तर यहाँ घाँसेमैदानमै गुराँस फुलेको देख्न पाइन्छ,” उनले भने, “शरद ऋतुमा लेकाली फूलहरू फुल्छन् । ठूला घाँसेमैदान र प्राकृतिक दृश्यले यहाँ छुट्टै आनन्द दिन्छ ।” प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको संगमका रूपमा स्थापित मुन्दुम ट्रेल क्षेत्र गुराँसले ढाकिँदै थप आकर्षक गन्तव्य बन्दै गएको छ । मुन्दुम ट्रेल आसपास पर्ने मैयुङ क्षेत्रमा १८ प्रजातिका गुराँस पहिचान भइसकेको अनुसन्धानकर्ताले बताएका छन् ।
कामको थकान मेटाउन र प्रकृतिसँग रम्न फुर्सदको समयमा मुन्दुम ट्रेल पुग्ने गरेको लालबहादुर मगर बताउँछन् । “यहाँ प्रकृतिसँग रम्न पाउनुका साथै चौँरीको दूध आफैं तताएर खान पाइन्छ । घाँसेमैदानमा पालिएका घोडासमेत चढ्न पाइन्छ,” उनले भने, “यसपटकको यात्रा झन् अविस्मरणीय रह्यो । यति धेरै रंग र प्रजातिका गुराँस पहिलो पटक प्रत्यक्ष अवलोकन गर्दा निकै आनन्द महसुस भयो ।”
वसन्त ऋतु सुरु भएसँगै स्थानीयले भेँडा, चौँरी र घोडा चराउन मुन्दुम ट्रेल आसपासका घाँसेमैदानमा लैजाने गरेका छन् । मैयुङ, मेरुङ र धोद्रे क्षेत्रका घाँसेमैदान भेँडापालनका लागि उपयुक्त मानिन्छन् । पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको सीमामा पर्ने मुन्दुम ट्रेल किराँत समुदायको ऐतिहासिकतासँग जोडिएको छ । खोटाङ र भोजपुरको सीमाबाट सुरु हुने पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी र चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुंगिन्छ । पहाडका चुचुरामा निर्माण गरिएको यो पदमार्ग पूरा गर्न विदेशी पर्यटकलाई करिब १३ दिन र नेपालीलाई १० दिन लाग्ने गरेको छ ।
मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईका अनुसार वसन्त ऋतुमा हिमाल नजिक पुगेर सौन्दर्य अवलोकन गर्न चाहने पर्यटकका लागि गुराँससँगै यो पदयात्रा विशेष आकर्षण बनेको छ । ठूला घाँसेमैदान, फराकिला चौँरीखर्क, भेडीगोठ तथा घोडचढीले पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । पदमार्ग आसपास अधिकांश किराँत समुदायको बसोबास रहेकाले उनीहरूको मौखिक ग्रन्थ ‘मुन्दुम’मा आधारित जीवनशैली, संस्कार र संस्कृतिबारे जानकारी लिन पनि यो क्षेत्र महत्त्वपूर्ण मानिन्छ । मैयुङको हाँसपोखरी क्षेत्रमा विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, थार, भिरमौरी तथा अन्य जंगली जनावर पनि पाइन्छन् । डेढ दर्जनभन्दा बढी प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, जडीबुटी तथा घना जंगल यस क्षेत्रका थप आकर्षण हुन् ।
मानवबस्ती कम पाइने मुन्दुम ट्रेलमा पर्यटकको चहलपहल बढेसँगै स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । परम्परागत गोठलाई स्तरोन्नति गर्दै गोठ–स्टे (गोठवास)को सुविधा विस्तार गरिएको छ । यहाँ पर्यटकलाई स्थानीय परिकार, चौँरीको ताजा दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, ताजा सागसब्जी, आलु, सिमी लगायतका स्थानीय उत्पादन प्राथमिकताका साथ परोसिने गरिएको छ । रासस