विजयपुर । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै धरान उपमहानगरपालिकाको सामुदायिक शिक्षाको अवस्था फेरि बहसको केन्द्रमा आएको छ । वैशाख २८ गते सार्वजनिक नतिजाले केही विद्यालयको उपलब्धि देखाए पनि समग्र तस्बिर भने सन्तोषजनक देखिँदैन । अझ गम्भीर पक्ष के छ भने धरानका सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी झण्डै आधा विद्यार्थी ‘नन्ग्रेडेड’ भएका छन् ।

धरान उपमहानगरभित्रका २१ विद्यालयबाट विद्यार्थी एसईईमा सहभागी भएका थिए । तीमध्ये साधारण, प्राविधिक तथा विशेष शिक्षा धारका विद्यालय समावेश छन् । तथ्याङ्कलाई हेर्दा केही विद्यालयले उल्लेखनीय नतिजा ल्याएका छन् भने कतिपय विद्यालयको अवस्था अत्यन्त कमजोर देखिएको छ ।

उत्कृष्टता मापनको आधारमै विवाद

धरान–१५ स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयबाट परीक्षामा सहभागी सबै विद्यार्थी ‘ग्रेडेड’ बने । विशेष विद्यालय भएकाले प्रतिशतका आधारमा हेर्दा यो विद्यालय शतप्रतिशत सफल देखिन्छ । यस्तै, साधारण धारतर्फ धरान–३ को भानुस्मृति माध्यमिक विद्यालयबाट सहभागी १६ जनामध्ये १४ जना अर्थात् ८७.५० प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भए ।

धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयबाट ६९ जनामध्ये ५७ जना अर्थात् ८२.६१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ बनेका छन् । विद्यार्थी सङ्ख्या र ‘ग्रेडेड’ प्रतिशत दुवैलाई सँगै राखेर हेर्दा धेरैले सरस्वती मा.वि.लाई बढी सन्तुलित नतिजा मानेका छन् ।

धरान–१२ स्थित पब्लिक हाइ स्कुलका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले कम विद्यार्थी सहभागी भएका विद्यालयलाई उत्कृष्ट भन्न नमिल्ने तर्क गर्छन् । उनका अनुसार एक जना विद्यार्थी सहभागी भएर एक जना नै ‘ग्रेडेड’ भए पनि शतप्रतिशत नतिजा देखिन्छ, तर त्यसलाई वास्तविक उत्कृष्टता मान्न सकिँदैन ।

शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका शिक्षा अधिकृत निर्मल निरौलाले भने शिक्षा नियमावली २०५९ लाई आधार मान्न सकिने बताएका छन् । नियमावलीअनुसार तराई क्षेत्रमा सामान्यतया एक कक्षामा ५० विद्यार्थी हुनुपर्ने व्यवस्था छ । यही आधार मान्ने हो भने न्यूनतम् पर्याप्त विद्यार्थी सहभागिता भएको विद्यालयलाई मात्र तुलनात्मक मूल्याङ्कनमा राख्नुपर्ने देखिन्छ ।

यदि यही मापदण्ड लागू गर्ने हो भने धरान–६ को सरस्वती मा.वि. साधारण धारतर्फ उत्कृष्ट विद्यालयको रूपमा देखिन्छ । किनभने विद्यालयमा पर्याप्त विद्यार्थी सहभागिता हुनुका साथै उच्च प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् । त्यसपछि पब्लिक हाइ स्कुलको स्थान आउँछ, जहाँ २ सय २० जना सहभागीमध्ये १ सय ७४ जना अर्थात् ७९.०९ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख देवेन्द्र मल्लले उत्कृष्टका दुई आधारमा निर्धारण गर्नुपर्ने बताए । उनले भने, “प्रतिशतमा हेर्दा ५ जनामा ५ जना नै ‘ग्रेडेड’ भएको उत्कृष्ट भयो । जिपिए पनि हेर्नुपर्ने हुन्छ ।” प्रतिशतलाई आधार मान्ने हो भने धरान–१५ को पूर्वाञ्चाल ज्ञानचक्षु विद्यालय उत्कृष्ट र भानुस्मृति मा.वि. दोस्रो स्थानमा आउनेछन् । एकाइ प्रमुख मल्लका अनुसार स्पष्ट कुनै मापदण्ड छैन । तर, उनले पनि शिक्षा नियमावलीको मापदण्डलाई मान्न सकिने बताए ।

शिक्षा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीका अनुसार कुनै मापदण्ड छैन । सूचना अधिकारी धामीले भने, “न्यूनतम् सङ्ख्या, प्रतिशत र जिपिए निर्धारण राष्ट्रिय परीक्षा बोर्डसँग होला ।” राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोखरेलले बोर्डमा उत्कृष्टताको कुनै मापदण्ड नभएको बताए । उनले भने, “बोर्डले ¥याङ्किङ गर्दैन । कुनै मापदण्ड छैन । जसले गर्ने हो, उसले मापदण्ड निर्धारण गर्छ ।”

शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका शिक्षा अधिकृत निर्मल निरौलाले शिक्षा नियमावली २०५९ को मापदण्डअनुसार विद्यार्थी परीक्षामा सहभागी भएकालाई उत्कृष्टमा गणना गर्दा राम्रो हुने बताए । उनले भने, “नियमावलीअनुसारको तर्क वैज्ञानिक र राम्रो तर्क हुन्छ ।” शिक्षा नियमावली २०५९ को नियम परिच्छेद– १५ को नियम ७७ को उपनियम (१) मा सामुदायिक विद्यालयको प्रत्येक कक्षामा विद्यार्थी सङ्ख्या सामान्यतया उपत्यका तथा तराई ५०, पहाड ४५ र हिमाली क्षेत्रमा ४० हुनुपर्ने व्यवस्था गरेको छ ।

आधा विद्यार्थी ‘नन्ग्रेडेड’: सामुदायिक शिक्षाको चिन्ताजनक अवस्था

धरान उपमहानगरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सामुदायिक विद्यालयतर्फ १ हजार १ सय २० जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । तीमध्ये ५ सय ६५ जना ‘नन्ग्रेडेड’ बनेका छन् । अर्थात् ४९.६४ प्रतिशत विद्यार्थीले न्यूनतम् उपलब्धि पनि हासिल गर्न सकेनन् । यो तथ्याङ्कले धरानको सामुदायिक शिक्षामा गम्भीर प्रश्न खडा गरेको छ ।

विशेषगरी केही विद्यालयको अवस्था अत्यन्त कमजोर देखिएको छ । धरान–१७ को श्री माध्यमिक विद्यालयबाट २६ जना सहभागी भएकोमा केवल १ जना मात्र ‘ग्रेडेड’ बने । यो कुल ३.८५ प्रतिशत मात्र हो । त्यस्तै, पञ्चकन्या माविबाट ६८ जनामध्ये ५ जना मात्र ‘ग्रेडेड’ भएका छन् । धरान–२ स्थित शिक्षा निकेतन मा.वि.बाट ७१ जनामध्ये ७ जना मात्रै ‘ग्रेडेड’ हुनु, पब्लिक मा.वि. फुस्रे, ज्ञानोदय मा.वि., शारदा बालिका नमुना मा.वि.लगायत विद्यालयको कमजोर नतिजाले शिक्षाको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ ।

विशेषतः धेरै विद्यालयमा २० प्रतिशतभन्दा कम विद्यार्थी ‘ग्रेडेड’ हुनु विद्यार्थीको कमजोरी मात्र नभई समग्र शैक्षिक प्रणालीकै असफलता भएको शिक्षा क्षेत्रका जानकारहरूको भनाइ छ ।

विशेषगरी सामुदायिक विद्यालयमा आर्थिक रूपमा कमजोर तथा पहिलो पुस्ताका विद्यार्थीहरूको सङ्ख्या धेरै हुने भएकाले पनि सिकाइ उपलब्धिमा प्रभाव परेको देखिन्छ ।

५० प्रतिशतभन्दा माथि ‘ग्रेडेड’ भएका विद्यालय

धरानका केही विद्यालयले भने सकारात्मक सन्देश दिएका छन् । भानुस्मृति मा.वि., सरस्वती मा.वि., पब्लिक हाइ स्कुल, भालढुङ्गा मा.वि., ज्वालामुखी मा.वि.लगायत विद्यालयले तुलनात्मक रूपमा राम्रो नतिजा ल्याएका छन् ।

यी विद्यालयमा व्यवस्थापन, शिक्षकको सक्रियता, नियमित कक्षा सञ्चालन तथा परीक्षा तयारीमा बढी ध्यान दिइएको देखिन्छ । विशेषगरी पब्लिक हाइ स्कुलले धेरै विद्यार्थी सङ्ख्याबीच पनि राम्रो नतिजा ल्याउनु उल्लेखनीय मानिएको छ । प्राविधिक धारतर्फ भने धरान–१२ को पब्लिक हाइ स्कुल उत्कृष्ट देखिएको छ । विद्यालयबाट सहभागी ४७ जनामध्ये ४१ जना अर्थात ८७.२३ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् ।सहिद मा.वि. र शिक्षा निकेतन मा.वि.ले पनि प्राविधिक धारतर्फ तुलनात्मक रूपमा राम्रो नतिजा ल्याएका छन् । यसले प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण र व्यावहारिक शिक्षाको प्रभावकारिता देखिएको छ । 

विशेषतः आधाभन्दा बढी विद्यार्थी ‘नन्ग्रेडेड’ हुने अवस्था सामान्य होइन । यो शैक्षिक सङ्कटको सङ्केत हो । अब उपमहानगर, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र शिक्षा सरोकारवालाले सामूहिक रूपमा जिम्मेवारी लिनुपर्ने शैक्षिक क्षेत्रका विज्ञहरू बताउँछन् । विद्यालयस्तरमै सिकाइ परीक्षणलाई प्रभावकारी बनाउनुपर्ने, कमजोर विद्यार्थीका लागि विशेष कक्षा सञ्चालन गर्नुपर्ने, शिक्षकको उत्तरदायित्व बढाउनुपर्ने, अभिभावक–विद्यालय समन्वय बलियो बनाउनुपर्ने, तथा परिणाममुखी शैक्षिक नीति लागू गर्नुपर्ने विज्ञहरूको सुझाव रहेको छ ।