विजयपुर । चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा पूर्वेली भेट्रान्स सेमिफाइनलमा पुगेको छ ।
मंगलबार सम्पन्न चौथो क्वाटरफाइनल खेलमा पूर्वेली भेट्रान्स फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पूर्वेली भेट्रान्स फुटबल क्लब र हाम्रो इटहरी भेट्रान्सबीच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पूर्वेली भेट्रान्सका जर्सी नम्बर ११ का प्रवीन विश्वकर्माले निर्णायक गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा पूर्वेली भेट्रान्सले जित सुनिश्चित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका पूर्वेली भेट्रान्सका जर्सी नम्बर ५ का भुपेन लिम्बू “प्लेयर अफ द म्याच” घोषित भए । उनलाई क्लबका सल्लाहकार सुरज गुरुङले पुरस्कार प्रदान गरे । प्रतियोगिताअन्तर्गत भोलि हुने सेमिफाइनल खेलमा विराट भेट्रान्स मोरङ र हाम्रो धरान भेट्रान्स सुनसरीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।