धरान/ २०७७ सालको विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा आयोजित दोस्रो सुम्निमा चोक ब्याडमिण्टन प्रतियोगितामा सुमन जवेगु र रविन आङ्खेवाको जोडी विजयी बनेको छ ।

सुम्निमा युवा क्लबको आयोजनामा धरान–१४ स्थित पञ्चकन्या कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स डबल्सतर्फ जवेगु र आङ्खेवाको जोडी विजयी बन्न सफल भएको हो । फाइनल खेलमा मणिराज राई र राजु लिम्बूको जोडीलाई सोझो सेटमा २१—१५ र २१—१८ को अङ्कले हराएर जवेगु र आङ्खेवाको जोडी विजयी भएको हो ।

मिक्स डबल्सतर्फ सुमन जवेगु र पूजा ताम्राकारको जोडी विजयी बन्न सफल भयो ।

मिक्स डबल्सको फाइनल सेटमा रामप्रसाद तुम्खेवा र प्रेमकला सम्बाहाङ्फेको जोडीलाई २१—१५ अङ्कले हराएर जवेगुको जोडी विजयी बन्न सफल भएको थियो । तेस्रो स्थानको लागि भएको खेलमा रामप्रसाद तुम्खेवा र कृष्ण लिम्बूको जोडीलाई फाइनल सेटमा २१—१८ अङ्कले हराएर देवकुमार पारघरी र अनिल राईको जोडी विजयी बन्न सफल भयो ।

प्रथम, दोस्रो र तेस्रो हुन सफल खेलाडीहरूलाई चित्रकुमारी पारघरीले नगद, मेडल र ट्रफी प्रदान गरिन् । जम्मा चौध जोडी सहभागी प्रतियोगिताको संयोजन देवकुमार पारघरीले गरेका थिए भने आर्थिक सौजन्य सुम्निमा चोकवासी हाल बेलायतमा बसोबास गर्दै आएका खेलप्रेमीहरूले गरेका थिए ।