धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–१ माझी टोलमा गुण्डागर्दी गरेको अभियोगमा प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ ।
स्थानीय लालबहादुर खत्री र मुना दाहाललाई हातपात र अभद्र व्यहार गरेको अभियोगमा इटहरी–५ का २२ वर्षीय समीर बराल र १९ वर्षीय सुजन लिम्बूलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उनीहरूले अश्लील शब्द प्रयोग गर्दै हातपात पनि गरेको उजुरी परेपछि मंगलबार पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाइकल चोरी गरेको आरोपमा सुनसरीको इटहरीबाट दुई युवालाई पक्राउ गरेको छ । को १८ प ८५३६ र को ७ प ९६२५ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा इटहरी–४ का २४ वर्षीय विकास भुजेल पक्राउ परेका हुन् । उनले आफ्नै घरमा लुकाई राखेको अवस्थामा प्रहरीले मोटरसाइकल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले भुजेलसहित उनकै साथी २४ वर्षीय विवेक अधिकारीलाई पक्राउ गरेको हो । उनीहरुलाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।