लक्ष्मीमार्ग । मोरङको सुन्दरहरैंचामा सम्पन्न प्रथम प्रदेशस्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक झरना युवा क्लब विराटचोकले जितेको छ ।
इन्द्रपुर रङ्गशालामा शुक्रबार सम्पन्न प्रतियोगितामा आयोजकले धरानको सिटी फुटबल एकेडेमीलाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको हो । निर्धारित समयसम्म दुवै टिमले १–१ गोल गरेका थिए ।
आयोजकबाट विजय भुजेलले गोल गर्दा धरानका तपन कार्कीले गोल गरेका थिए । निर्धारित समय बराबरी गोलमा सकिएपछि टाइब्रेकरमा ५–४ गोलअन्तरले आयोजकले जित निकालेको हो ।
खेलको म्यान अफ दी म्याच आयोजकका मनोज राई घोषित भए । प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५१ हजार एक सय ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाए ।
विजेतालाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आयोजक झरना युवा क्लबका अध्यक्ष प्रल्हाद पाठकलगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा ८ टिम सहभागी बनेका थिए । प्रतियोगिता गत शनिबारदेखि सुरु भएको थियो ।