धरान। धरान–१९ न्यू ड्रिमल्यान्ड होटलका सञ्चालक नारायण लिम्बूलाई मासुजन्य वस्तु र दूधजन्य पदार्थ एउटै फ्रिजमा राख्नु हुँदैन भन्नेबारेमा थाहा थिएन । जब खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले तालिम दियो, तबमात्रै उनले त्यसबारे ज्ञान पाए ।
भन्छन्, ‘दूध र मासु एउटै डिफ्रिजमा राख्नुपर्छ भन्ने थाहा थिएन । त्यो तालिमले मलाई ज्ञान दियो । यस्ता धेरै कुरा रहेछन्, जो होटल चलाउनेले जान्नै पर्ने रहेछ ।’ सोमबार खाद्य स्वच्छता स्तर मापन गर्नेक्रममा डिभिजन कार्यालयको टोलीलाई यस्ता ज्ञान दिएकोमा धन्यवाद पनि दिए ।
कार्यालयको टोलीले गत वर्ष पनि उनको होटललाई उत्तमको स्टिकर प्रदान गरेको थियो । यस वर्ष पनि खाद्य स्वच्छता स्तर मापन गर्दा उत्तमको स्टिकर नै प्राप्त गरेको छ । खाद्य स्वच्छता स्तर भए–नभएकोबारे अनुगमन गरिएको अधिकांश होटलको साझा समस्याको रूपमा भान्साघर सरसफाइ र व्यवस्थित नभएको पाइएको छ । दोस्रो दिनको अनुगमनमा पनि त्यही स्थिति रहेको छ ।
अनुगमनमा खटिएका डिभिजन कार्यालय इनरुवाका प्रमुख काशिनाथ घिमिरे भन्छन्, ‘अनुगमन गरिएको अधिकांश होटलको साझा समस्या भान्साघरको सफाइ र व्यवस्थापनमा चुकेको देखियो ।’ उनका अनुसार होटल इजि राइडर गतवर्षभन्दा खस्किएको पाइएको छ । गत वर्ष अतिउत्तमको स्टिकर प्राप्त गरेको होटलले यसपटकको अनुगमनमा उत्तमको स्टिकर मात्रै प्राप्त गरेको छ । ‘के कारणले हो, त्यो थाहा भएन, तर यसवर्ष भान्साको सरसफाइ र व्यवस्थापन गतिलो पाइएन’ उनले भने ।
धरानमा नाम चलेकै होटलमध्ये होटल रत्नइनको अवस्था भने सबैभन्दा नाजुक पाइएको छ । उक्त होटलको खाद्य स्वच्छता स्तर नै नभएको पाइएपछि डेढ महिनाभित्र सुधार गर्न निर्देशन दिएको छ । कागजपत्र ठिकठाक भए पनि भान्साघर तथा अन्य व्यवस्थापन नभएको पाइएपछि कार्यालयले कुनै पनि स्टिकर प्रदान गरेको छैन ।
होटल सञ्चालक नवीन श्रेष्ठले कोभिडका कारण होटल नचलेको र मर्मत गर्ने तयारीमा रहेकाले पनि सरसफाइ र व्यवस्थापन खस्किएको स्वीकार गरे । उनले भने, ‘इनोभेसनको तयारीमा छौं, त्यसैले भनेजस्तो सुधार गर्न सकिएन ।’
डिभिजन कार्यालयले एक महिनाभित्र भान्साघरमा सरसफाइ र व्यवस्थित गर्न निर्देशन दिए पनि उनले डेढ महिनाको समय दिनका लागि आग्रह गरेका थिए । ‘तपाईं बनाउँदै गर्नुस्, त्यसबारे धरान उपमहानगरका बजार अनुगमन अधिकृतलाई जानकारी गराउँदै जानुस्,’ प्रमुख घिमिरेले भने, ‘त्यो गर्नुभयो भने मात्रै हुन्छ, नत्र समय लिएर मात्रै काम हुँदैन ।’
आइतबारदेखि गरिएको अनुगमनमा धरानमा होटल गजुर प्यालेसले मात्रै अति उत्तमको स्टिकर प्राप्त गरेको छ । नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ५० वटा सूचकलाई आधार मानेर खाद्य स्वच्छता मापन गर्दै आएको छ । कार्यालयले सोमबार न्यू ड्रिमल्यान्ड होटल, होटल इजीराइडर, ओइसी मिठो सेकुवा कर्नरले उत्तमको स्टिकर प्राप्त गर्दा न्यू बगरकोट, मेन्याङ्बो होटल, भाइब्स रेष्टुरेन्ट, ह्वाइट डोभले सन्तोषजनक स्टिकर प्राप्त गरेको छ ।
मूल्याङ्कन गर्नै नमिल्ने गरी रत्न इन, भिन्टेज लाउन्ज एण्ड बार, कोरियन हाङ्कुक साराङ रेष्टुरेन्टलाई सुधार गर्नका लागि पत्र दिइएको धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए । धरानमा दुई दिनमा २० वटा होटलको खाद्य स्वच्छता स्तर मापन गरिएको छ ।
केही दिनअघि गरिएको इटहरीमा गरिएको खाद्य स्वच्छता स्तर मापनमा एउटा होटलले मात्रै अतिउत्तमको स्टिकर प्राप्त गरेको थियो । इटहरीमा १९ होटलको खाद्य स्वच्छता स्तर मापन गरिएको थियो । जसमा उत्तम र सन्तोषजक स्टिकर प्राप्त गर्ने धेरै थिए ।